News फ्रेण्डस तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा
गोलनेपाल

बुटवल । फ्रेण्डस क्लब जारी २२औं तिलोत्तमा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको तेस्रो क्वाटरफाइनलतर्फ फ्रेण्डसले विभागीय टोली एपिएफ फुटबल क्लबलाई २–१ ले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो ।

बुटवल स्थित एन्फा टेक्निकल सेन्टर मैदानमा भएको खेलमा सबै गोलहरु दोस्रो हाफमा सम्पन्न भए । खेलको ५२औं मिनटमा डोना थापाको गोलबाट फ्रेण्डसले खेलमा अग्रता बनाएको थियो । त्यस्तै ८२औं मिनटमा रफिक अमिनुले दोस्रो गोल गरे जुन फ्रेण्डसको जितमा निर्णायक बन्यो ।

उता एपिएफका लागि खेलको इन्जुरी समयमा प्रविन स्याङ्तनले एक गोल फर्काए तापनि टोलीलाई खेलमा फर्काउन सकेनन् । खेलमा फ्रेण्डसका रफिक अमिनु म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ११,१११ रुपैयाँ हात पारे ।

प्रतियोगिता अन्तरगत चैत ७ गते मंगलबारको अन्तिम क्वाटरफाइनल खेल मनाङ मस्याृङ्दी क्लब र नेपाल पुलिस क्लबबीच हुने आयोजकले जानकारी दियो ।

रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ११,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५,५५,५५५ रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल यही चैत ११ गतेका दिन हुनेछ ।

Post Comments