News राष्ट्रिय खेलाडी सरोजको गन्तव्य पनि अष्ट्रेलिया
गोलनेपाल

काठमाडौं । नेपाली फुटबलमा अनुभवी डिफेन्डरका रुपमा परिचित राष्ट्रिय फुटबल खेलाडी सरोज दहाल पनि सुनिश्चित भविष्यका लागि विदेशिएका छन् । अन्य खेलाडीहरु सरह उनको गन्तव्य पनि अष्ट्रेलिया नै बनेको छ । सुजल श्रेष्ठ र रञ्जित धिमाल अष्ट्रेलिया उडेको २४ घण्टा बित्न नपाउँदै सरोजले पनि त्यही गन्तव्य रोजे ।

क्लब फुटबलमा हाल संकटा क्लबमा आवद्ध रहेर कप्तानी समेत गरेका सरोजले हाल शुरु भईसकेको लिगका खेलहरु पनि खेलेका थिए । तर अहिले लिग विश्रामको समयमा उनले पनि अप्रत्याशित रुपमा विदेश पलायनको बाटो रोजेका छन् ।

हाल वैदेशिक गन्तव्यका रुपमा नेपाली खेलाडीहरुको मुख्य गन्तव्य बनिरहेको छ, अष्ट्रेलिया । पछिल्लो केही महिना यता अष्ट्रेलिया पुग्ने खेलाडीहरुको सूची लम्बिएको छ । अन्य देशहरु पुग्ने खेलाडीहरुको सूची अझै लामो छ ।

नेपाली फुटबलको मजबुत संरचना नहुनु र खेलाडीहरुलाई दैनिकी चलाउने बलियो आधार नबन्नुले पनि कतिपय खेलाडीहरुले फुटबलबाहेक अन्य पेशालाई अवलम्बन गर्न बाध्य बनेका छन् । राष्ट्रिय टोलीमा पनि राम्रो प्रदर्शन र नियमित स्थान पाइरहेका खेलाडीहरुले पनि विदेश पलायनको बाटो रोज्दा अहिले राष्ट्रिय फुटबल टोली पनि रित्तो जस्तै बनेको छ ।

 

Post Comments