News सिद्धार्थलाई न्यु सिर्जना कपको उपाधि
सुरज राना मगर

तिलोत्तमा । पाँचौं न्यु सिर्जना कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि सिद्धार्थ फुटबल क्लब, चपरहट्टीले जितेको छ । फाइनलमा सञ्जिवनी युवा क्लबलाई टाईब्रेकरमा हराउँदै सिद्धार्थ विजेता बन्न सफल भएको हो ।

तिलोत्तमा–१३ करौजिया स्थित आयोजक क्लबको खेलमैदानमा सम्पन्न निर्धारित समयको रोमाञ्चक खेल गोलरहित बराबरीमा टुंगिएपछि नतिजा सिधै टाईब्रेकरबाट निकाल्ने निर्णय भएको थियो । टाईब्रेकरमा भने सिद्धार्थ ४–२ ले विजयी बन्यो ।

विजेता बनेको सिद्धार्थले उपाधिसहित नगद १ लाख ११ हजार हात पार्यो भने उपविजेता सञ्जिवनीले ५५ हजार ५ सय सहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य बन्यो ।

प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी सञ्जिवनीका जितेश गुरुङ बने । उत्कृष्ट गोलरक्षक सिद्धार्थका दिपेश परियार चुनिए भने उत्कृष्ट डिफेण्डर सञ्जिवनीका कप्तान अनुप बुढाथोकी घोषित भए । सर्वाधिक गोलकर्ताको पुरस्कार भने सिद्धार्थका आशिष रानाले हात पारे ।

व्यक्तिगत विधातर्फ उत्कृष्ट बनेका सबैले जनही ३–३ हजार र ट्रफी हात पारे । विजयी खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथी रुपन्देही क्षेत्र नं. ३ प्रतिनिधी सभा सदस्य दिपक बोहरा, आयोजक क्लबका अध्यक्ष सोबित दर्लामी, क्लबका संरक्षक नरजंग, खेल संयोजक शेर गुरुङ लगायतले पुरस्कृत गरेका थिए ।

न्यु सिर्जना युवा क्लब, तिलोत्तमा–१३, करौजिया, रुपन्देहीको आयोजनामा भएको प्रतियोगितामा कुल १६ टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments