News २९औं माछापुच्छ्रे कप शुरु, लुम्बिनी खुकुरीको विजयी शुरुवात
सुरज राना मगर

भैरहवा । मोफसलको पुरानो मध्ये एक माछापुच्छ्रे कप खुला नकआउट फुटबल प्रतियोगिताको २९औं संस्करण आइतबारदेखि शुरु भएको छ । पक्लिहवा कृषि क्याम्पसको खेलमैदानमा भएको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी खुकुरी एफसीले न्यु स्टार एफसीलाई २–१ ले हराउँदै विजयी शुरुवात गर्यो ।

खेलमा शुरुवाती गोल खाएर पनि लुम्बिनी खुकुरीले उत्कृष्ट पूनःरागमन गर्यो । खेलको ५८औं मिनटमा सुशान्त थापाको गोलबाट न्यु स्टारले खेलमा अग्रता लिएको थियो । यद्यपि ७८औं मिनटमा सुवास तामाङले लुम्बिनी खुकुरीका लागि बराबरी गोल फर्काएका थिए । त्यस्तै खेलको इन्जुरी समयमा जितेश गुरुङ्गले दोस्रो तथा निर्णायक गोल गर्दै लुम्बिनी खुकुरीलाई रोमाञ्चक जित दिलाए ।

खेलमा निर्णायक गोल गरेका जितेश गुरुङ्ग नै म्यान अफ द म्याच चुनिए । यो जितसँगै लुम्बिनी खुकुरी क्वाटरफाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्तरगत चैत १३ गते सोमबारको खेल गोर्खा इलाभेन, नौतनवा (भारत) र लुम्बिनी ज्ञान ज्योति क्लब, सियारीबीच हुने आयोजकले जानकारी दियो ।

त्यसअघि प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इस्तियाक अहमद खानले गरेका थिए ।

माछापुच्छ्रे फुटबल क्लब, भरहवाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष युवराज थापाले जानकारी दिए । कुल १६ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल यही चैत २७ गतेका दिन हुनेछ ।

Post Comments