News प्रथम रिभरसाईड कप चैत २८ देखि
गोलनेपाल

बेनी । रिभरसाईड बगरफाँट युवा क्लब, बेनी–२, बगरफाँट, म्याग्दीको आयोजनामा यही चैत २८ गतेदेखि नयाँ वर्ष २०८० बैशाख १ गतेसम्म प्रथम रिभरसाईड सेभेन ए साईड खुला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।

बेनी नगरपालिका–२, बगरफाँट स्थित स्थानीय खेलमैदानमा हुने प्रतियोगिताको आवश्यक तयारी पनि शुरु भईसकेको आयोजकले जानकारी दियो । साथै प्रतियोगितामा सहभागिता जनाउन चाहने इच्छुक क्लबहरुका लागि चैत २७ गतेसम्म टिमदर्ता खुला गरिएको छ । टिमदर्ता शुल्क भने ७ हजार तोकिएको छ ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक नारायण थापाले जानकारी दिए । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको कार्यक्रम संयोजक सचिन कार्कीले बताए ।

“खेल स्वास्थ्यका लागि, खेलाडी राष्ट्रका लागि” भन्ने नाराका साथ आयोजना हुन गईरहेको प्रतियोगितालाई भव्यताका साथ सफल बनाउन आयोजक क्लबका अध्यक्ष सुनिल थापाले सबैसँग अनुरोध समेत गरेका छन् ।

Post Comments