News राष्ट्रिय खेलाडी सुमित गृहनगरमा सम्मानित
उमेश पुन

पोखरा । नेपाली राष्ट्रिय फुटबल टोलीका युवा सदस्य सुमित श्रेष्ठ आफ्नो गृहनगर पोखरामा सम्मानित भएका छन् । भर्खरै सम्पन्न प्रधानमन्त्री थ्री नेशन्स कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता जितेका सुमित त्यसलगतै गृहजिल्ला कास्की फर्किएका थिए ।

सोही अवसरमा उनलाई स्पोर्टस् क्यासल प्रा.लि., पोखराले एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो । पूर्व राष्ट्रिय फुटबल खेलाडीसमेत रहेका स्पार्टस् क्यासलका सञ्चालक इश्वर गुरुङ र विजया गुरुङले फुटबलर श्रेष्ठलाई खादा माला तथा सम्मानपत्रका सम्मानित गरे ।

सञ्चालक गुरुङले राष्ट्रिय टोलीमा स्थान बनाई सफलता समेत हात पार्न सफल भएकोमा सुमितलाई बधाई दिंदै आगामी दिनहरुमा थप सफलता मिल्ने विश्वासका साथ शुभकामना दिए । सुमितले पनि आफूले पाएको यो सम्मानले फुटबलमा अझै राम्रो गर्न हौसला मिलेको बताए । साथै उनले फुटबलमा आफ्नो सपना पनि साकार पार्ने लक्ष्य नजिक पुगेको उनले बताए ।

स्मरण रहोस, सुमितले स्पोर्टस क्यासल कै लागि राष्ट्रिय ए डिभिजन फुटसल लिग पनि खेलेका थिए । सोही अवसरमा सुमितलाई केल्मी ब्राण्डको आधिकारिक बिक्रेताको तर्फबाट राज रम्तेलले आकर्षक गिफ्ट ह्याम्पर समेत हस्तान्तरण गरेका थिए ।

सुमित हाल नेपाल कै सफलतम क्लब मध्ये एक मनाङ मस्र्याङ्दी क्लबमा आवद्ध रहेका छन् । र, मनाङ कै लागि खेल्दै उनी हाल मोफसलको घरेलु फुटबलसँगै ए डिभिजन लिगमा पनि व्यस्त छन् ।

सो अवसरमा बगर भाइखलकका वरिष्ठ उपाध्यक्ष इश्वर गुरुङ, कोषाध्यक्ष रमेश श्रेष्ठ, जुनियर बगर भाइखलकका अध्यक्ष धन बहादुर गुरुङ, एन्फा फुटसल विभागका पूर्व संयोजक विनोद गुरुङ खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दिनानाथ बराल लगायतको उपस्थिति रहेको थियो ।

 

 

Post Comments