News लुम्बिनी ज्ञानज्योति फाइनलमा
सुरज राना मगर

भैरहवा । लुम्बिनी ज्ञानज्योति क्लब, सियारी जारी २९औं माछापुच्छ्रे कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो सेमिफाइनलमा लुम्बिनी ज्ञानज्योतिले फर्साटिकर युवा क्लबलाई टाईब्रेकरमा हराउँदै उपाधि नजिक पुगेको हो ।

खेलमा शुरुवाती अग्रता बनाएर पनि त्यसलाई गुमाउन पुग्दा लुम्बिनी ज्ञानज्योतिले अन्तिम समयसम्म संघर्ष गर्नुपर्यो । पक्लिहवा कृषि क्याम्पसको खेलमैदानमा भएको खेलको चौथो मिनट मै जनम लिगलको गोलबाट लुम्बिनी ज्ञानज्योतिले खेलमा अग्रता बनाएको थियो । तर २६औं मिनटमा आशिष जिसीले फर्साटिकरका लागि बराबरी गोल फर्काएका थिए ।

निर्धारित समयको प्रतिस्पर्धात्मक खेल १–१ को बराबरीमा टुंगिएपछि नतिजा टाईब्रेकरबाट लिनुपरेको थियो । टाईब्रेकरमा भने लुम्बिनी ज्ञानज्योतिले नतिजा ४–२ ले आफ्नो पक्षमा पार्न सफल भयो ।

खेलमा लुम्बिनी ज्ञानज्योतिका गोलरक्षक दिपेश परियार म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत चैत २५ गते शनिबारको दोस्रो सेमिफाइनल खेल देवदह ब्वाईज, ढेकावर र भैरव एफसी, नयाँगाउँबीच हुने आयोजकले जानकारी दियो ।

माछापुच्छ्रे क्लब, पक्लिहवा, सिद्धार्थनगरको आयोजना तथा सिद्धार्थनगर नगरपालिकाको विशेष सहयोगमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष युवराज थापाले बताए । फाइनल खेल यही चैत २७ गतेका दिन हुनेछ ।

Post Comments