News रोहितको टोली पेर्सिकको लगातार नवौं जित
गोलनेपाल

काठमाडौं । सिजनको शुरुवात खराब रुपमा गरेको रोहित चन्दको इण्डोनेसियन क्लब पेर्सिक केडिरीले हाल भने उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो जितको यात्रालाई नवौं खेलसम्म पुर्याएको छ । शुक्रबार भएको लिगको आफ्नो ३३औं खेलमा पेर्सिकले दश खेलाडीमा सिमित बनेको पर्सिकाबोमाथि २–० को जित हात पार्यो ।

पेर्सिकका लागि खेलको पाँचौं मिनट मै वावा मारियो यगालोले पहिलो गोल गरे । त्यस्तै पहिलो हाफ कै अतिरिक्त समयमा एन्डी सेट्योले रातो कार्ड खाँदै मैदान छाड्दा पर्सिकाबो दश खेलाडीमा सिमित बनेको थियो । जसको फाईदा रोहितको टोली पेर्सिकले उठायो । खेलको अन्तिमतिर ८८औं मिनटमा अस्र्याद युस्जियान्टोरोले दोस्रो गोल गर्दै पेर्सिकको जित पक्का गरेका थिए ।

भर्खरै प्रधानमन्त्री कप थ्री नेशन्स कप जितेर इण्डोनेसिया पुगेका नेपालका स्टार मिडफिल्डर रोहित चन्दले पनि पूरा समय खेले र टोलीको जितमा मत्वपूर्ण भूमिका खेले ।

यो जितसँगै कुने समय रेलिगेशन क्षेत्रमा संघर्षरत पेर्सिक ३३ खेलबाट ४४ अंक साथ लिगतालिकाको नवौं स्थानमा छ र तालिकाको मध्य मै रहेर सिजनको समापन गर्ने तय भएको छ । पेर्सिकले सिजनको अन्तिम खेल बिहीबार पेर्सिससँग खेल्नेछ । त्यस्तै पेर्सिकसँग पराजित पर्सिकाबो भने ३८ अंकका साथ १४औं स्थानमा छ । शिर्ष स्थानमा भने ७२ अंकका साथ पिएसएम रहेको छ ।

Post Comments