News ओलम्पिक छनौटः भुटानको सनसनीपूर्ण जित
गोलनेपाल

काठमाडौं (एजेन्सी) । एएफसी महिला ओलम्पिक छनौटतर्फ अर्को दक्षिण एसियाली राष्ट्र भुटानले सनसनीपूर्ण जित निकाल्दै आफ्नो दोस्रो चरण प्रवेशको सम्भावनालाई कायम राखेको छ ।

समूह ए मा रहेको भुटानले आफ्नो पहिलो खेलमा आयोजक उज्वेकिस्तानसँग ९–० को फराकिलो अन्तरको हार बेहोरे तापनि शनिबार समूह चरणको दोस्रो खेलमा बलियो जोर्डनलाई २–१ ले हरायो ।

भुटानको जितमा खेलको ६४औं मिनटमा नामगेल डेमा र ७६औं मिनटमा सुनिता राईले गोल गरिन् । उता पराजित जोर्डनका लागि अन्तिमतिर इन्जुरी समयमा मइसा जबराहले एक मात्र सान्त्वना गोल फर्काएकी थिईन् ।

जोर्डनले आफ्नो पहिलो खेलमा टिमोर लिस्टेलाई ३–१ ले हराएको थियो । त्यस्तै शनिबार नै भएको अर्को खेलमा उज्वेकिस्तानले लगातार दोस्रो जित दर्ता गर्ने क्रममा टिमोर लिस्टेलाई ३–० ले हरायो ।

लगातार दुई हार बेहोरेको टिमोर लिस्टे समूह चरणबाटै बाहिरिएको छ । शिर्ष स्थानमा ६ अंक जोडेको उज्वेकिस्तान छ भने समान ३–३ अंक जोडेका भुटान र जोर्डन क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।

समूह चरणको अन्तिम खेलमा मंगलबार भुटानले टिमोर लिस्टेसँग खेल्नेछ भने उज्वेकिस्तानले जोर्डनको सामना गर्नेछ ।

Post Comments