News हेटौडामा फुटबल खेलाडीहरु सम्मानित
बिक्रम बानियाँ क्षेत्री

हेटौडा । यहाँ सम्पन्न दोश्रो अन्तरपालिका जिल्ला स्तरीय फुटबल प्रतियोगितामा हेटौंडा उपमहानगरपालिकालाई प्रथम बनाउँने खेलाडिलाई सम्मान गरीएको छ ।

जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा पिप्ले क्याम्पा रंगशालामा भएको प्रतियोगितामा मकवानपुर गढी गाउँपालिकालाई पराजित गर्दै हेटौंडा उपमहानगरपालिकाले उपाधिमा कव्जा जमाएको थियो ।

प्रतियोगितामा पालिकालाई उपाधि सहित २ लाख रुपियाँ नगद दिलाएका खेलाडि र अफिसीएल टिमलाई उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामा, उपप्रमुख राजेश बानियाँ सहितको टिमले सम्मान गरेका हुन् ।

खेलाडि र अफिसिएल गरी २३ जनालाई नगरप्रमुख लामाले नगद ६ हजार ५ सय रुपियाँ हस्तान्तरण गर्दा उपप्रमुख बानियाँले खादा लगाएका थिए । उनिहरुलाई पुरस्कार वापत प्राप्त रकममा केही थप परेर उपमहानगरले नगद पुरस्कार हस्तान्तरण गरेको हो ।

पुरस्कार बितरण गर्दै उपमहानगरका प्रमुख लामाले खेल जिवनमा थप प्रगतीको शुभकामना दिइन् । उनले खेलकुदको बिकासका लागि उपमहानगर लागि रहेको भन्दै चालु आर्थिक बर्षमै ठुलो लगानी खेलकुदमा गरेको बताइन् ।

प्रतियोगितामा सहभागि भएर उपमहानगरपालिकालाई प्रथम बनाएकामा सम्पुर्ण खेलाडि तथा अफिसीएललाई नगर खेलकुद बिकास समितिका अध्यक्ष चन्द्र शाहीले धन्यवाद दिएका थिए ।

अन्तरपालिका स्तरीय खेलमा हेटौंडा उपमहानगरपालिकाले मकवानपुरगढी गाउँपालिकालाई ४–० गोल अन्तरले पराजित गर्दै खेललाई आफ्नो पक्षमा पारेको थियो । जित हासिल गरेका टिमले शिल्ड मेडल तथा प्रमाणपत्र प्राप्त गरेको थियो ।
 

 

 

Post Comments