News १८औं माउण्ट एभरेष्ट एम.बि. बमजन गोल्डकपको खेलतालिका सार्वजनिक
गोलनेपाल

काठमाडौं । माउण्ट एभरेष्ट स्पोर्टिङ् क्लव, काठमाण्डौ–कुवेतले १९ बर्षदेखी निरन्तर सञ्चालन गर्दै आएको माउण्ट एभरेष्ट एम.बि. बमजन गोल्डकप फुटबल प्रतियोगिताको १८औं संस्करण फेब्रुअरी १४ र २१ तारीखका दिन हुने भएको छ ।

कुवेतको फाहाहिलस्थित सुकसवा फुटबल मैदानमा दुई शुक्रबार लगातार खेलाईने प्रतियोगिताको खेलतालिका समेत सार्वजनिक गरिएको छ । नकआउटका आधारमा हुने प्रतियोगितामा कुल १३ टोलीहरुको सहभागिता रहेको छ ।

आयोजक संस्था माउण्ट एभरेष्ट स्पोर्टिङ क्लवका संस्थापक बरिष्ट सल्लाहाकार तथा एनआरएनए कुवेतका पुर्व अध्यक्ष राजेन्द्र तामाङले आफ्नो स्वर्गिय पिता मान बहादुर बमजनको स्मृतिमा सन् २००० मा निर्माण गरेको यस गोल्डकपले प्रबासको नेपाली समाजमा छुट्टै लोकप्रियता हासिल गरेको छ ।

सुन र चाँदी जडान गरि निर्माण गरिएको प्रतियोगिताको ट्रफीको जगमा साधारण काठको बनावट, पिंधमा सुनाबि रङको बुट्टे डिजाइन, कम्मरमा चाँदीको आवरण र शिरमा ५ (पाँच) तोला बराबरको बिशुद्ध सुनको अण्डा आकारको ढिक्को, अनि दायाँ र बायाँ पट्टिको भाग सिल्भर रङ्ले पोतिएको समात्ने हेण्डल भएको अत्यन्तै सुन्दर एबं आकर्षक आकृति रहेको छ ।

स्थापना कालमा एम.बि. बमजन मेमोरियल गोल्डकपले नामांकित ट्रफीलाई संस्थापक राजेन्द्र तामाङ्ले १८ डिसेम्बर २००९ मा एक औपचारिक समारोह बीच कपको स्वामित्व पूर्ण रुपमा माउण्ट एभरेष्ट स्पोर्टिङ् क्लवमा निहित रहने गरि हस्तान्तरण गरेपश्चात यस कपको नाम माउण्ट एभरेष्ट एम.बी. बमजन गोल्ड कपमा रुपान्तरण गरिएको क्लवले बताएको छ ।

प्रतियोगिताको विजेताले उपाधिसहित २५१ के.डी र उपबिजेता टिमले १५१ के.डी नगद प्राप्त गर्नेछन् । त्यसैगरी, उत्कृष्ट खेलाडी, अनुशासित टिम, हाई स्कोररलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ । त्यस्तै उपाधिमाथि लगातार तीनपटक कब्जा जमाउँदै ह्याट्रिक गर्ने टोलीलाईृ क्लबले पुरस्कार रकम बढाएर ३०१ के.डी दिने समेत क्लबका अध्यक्ष डम्बर प्रसाद रिमालले बताए ।

स्मरण रहोस्, प्रतियोगिताको गत संस्करणको उपाधि नेपाल–कुवेत सरोकार समाजले जितेको थियो भने गोर्खाली फुटबल क्लव उपविजेता बनेको थियो ।

 

Post Comments