News समृद्धि फुटसल च्याम्पियन
गोलनेपाल

काठमाडौं । समृद्धिले ‘टेक्सस–धन्यन्तरी कप’ अन्तरकलेज प्लस टु छात्र फुटसल प्रतियोगिताको उपाधि मंगलबार जितेको छ ।

टेक्सस इन्टरनेसनल कलेज र धन्यन्तरी फुटसलद्वारा संयुक्त रुपमा आयोजित प्रतियोगिताको फाइनलमा समृद्धिले केब्स ‘ए’ लाई टाइब्रेकरमा ३–२ गोलले पराजित गर्यो । समृद्धिका आयुश घलान, दीपेश श्रेष्ठ र चन्दन दासले पेनाल्टी अवसरलाई सदुपयोग गरे । केब्स ‘ए’ बाट राज थोकर तामाङ र मुस्कान तामाङले गोल गरे ।

त्यसअघि निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएको थियो । निर्धारित समयको १९ सेकेन्डमै राज थोकर तामाङको गोलबाट केब्स ‘ए’ ले अग्रता लिएको थियो । छैटौं मिनेटमा समृद्धिका दीपेश श्रेष्ठले गोल फर्काउदै खेललाई १–१ को बराबरीमा पुर्याएका थिए ।

उपाधिसंगै समृद्धिले १ लाख तथा केब्स ‘ए’ ले ५० हजार नगद पुरस्कार हात पारे । तेश्रो स्थानमा चित्त बुझाएको पशुपति बहुमुखी क्याम्पसले २५ हजार रुपैयाँमा चित्त बुझायो ।

हाँडीगाउँस्थित धन्यन्तरी फुटसलमा भएको प्रतियोगितामा समृद्धिका दीपेश श्रेष्ठ उत्कृष्ट खेलाडी तथा केब्स ‘ए’ का पासाङ तामाङ उत्कृष्ट गोलरक्षक घोषित भए । प्रतियोगिताभर १० गोल गरेका जेभियर इन्टरनेसनल कलेजका अमोद सुवेदी सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा रहे ।

विजेतालाई अखिल नेपाल फुटबल संघ (एन्फा) का सदस्य एवं एन्फा फुटसल कमिटीका संयोजक दावा लामा, टेक्ससका प्रमुख कार्यकारी अधिकृत भेषराज पोखरेल, टेक्सस स्कुलका प्रिन्सिपल श्यामसुन्दर श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने प्रतियोगितामा १९ छात्र टिम सहभागी थिए ।

Post Comments