News अर्किड कपः प्रीतिमा क्वाटरफाइनलमा
गोलनेपाल

काठमाडौं । प्रीतिमा पाँचौं अर्किड कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

प्रीतिमाले विनायकलाई टाइब्रेकरमा ४–१ गोलले पराजित गर्यो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा टुंगिएको थियो । विनायकका रोहन बमजन ‘म्यान अफ द म्याच’ घोषित भए ।

काठमाडौं विनायक शिक्षालय (केभीएस) र भीमेश्वर एकेडेमी पनि आ–आफ्नो खेल जित्दै क्वाटरफाइनलमा स्थान बनाउन सफल रहे । केभीएसले आयोजक अर्किडलाई ६–१ गोलले हरायो । केभीएसका नवीन रोकाया, प्रतीक पोखरेल र अविरल थापाले समान २ गोल गरे ।

अर्किडका ललित पुन मगरले सान्त्वना गोल फर्काए । खेलमा अर्किडका सुमन खड्का ‘म्यान अफ द म्याच’ चुनिए । भीमेश्वरले हाइल्यान्डमाथि ४–० को सहज जित दर्ता गर्यो । भीमेश्वरका प्रवीन बस्नेतले ३ तथा मन्जिल पाण्डेले १ गोल गरे । हाइल्यान्डका सन्जोक राई ‘म्यान अफ द म्याच’ बने ।

अन्य खेलहरुमा लाइसियम प्याराडाइस र नेक्सस विजयी भए । लाइसियमले मानाङक प्याराडाइसलाई २–१ गोलले पाखा लगायो । लाइसियमका लागि दुवै गोल स्वरुप खत्रीले गरे । मानाङकका ‘म्यान अफ द म्याच’ रोमन लामाले १ गोल गरे ।

नेक्ससले ब्रम्हकुञ्जलाई १–० गोलले हराउदा मनीष बारियाले निर्णायक गोल गरे । ब्रम्हकुञ्जका रोहन सापकोटा ‘म्यान अफ द म्याच’ ठहरिए ।

 

Post Comments