News तेस्रो सताक्षी गोल्डकपको तयारी पूरा, झापा ११ नहुँदा तनाव
गोलनेपाल

झिलझिले । यही आउँदो फागुन ४ गतेदेखि शुरु हुन गईरहेको सताक्षी गोल्डकपको तेस्रो संस्करणको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक सतासीधाम स्पोर्टिङ क्लबले बुधबार पत्रकार सम्मेलन गरी तयारी अन्तिम चरणमा पुगेको जानकारी दियो ।

झिलझिलेस्थित गणेशमानसिंह प्रतिष्ठानको खेलमैदानमा आयोजना हुने गोल्डकप दुई वर्षपछि हुन लागेकाले पनि प्रतिक्षित प्रतियोगिताको रुपमा हेरिएको छ । एन्फाको तालिकाअनुसार सिजनको पहिलो प्रतियोगिता भएकाले पनि यस गोल्डकपलाई खेलप्रेमीले महत्वका साथ लिएका छन् ।

उद्घाटनमा आयोजक र मनाङ

गोल्डकपको उद्घाटन खेलमा आयोजक सतासीधाम स्पोर्टिङ क्लबले मनाङ मस्र्याङ्दी क्लबको सामना गर्नेछ । ए डिभिजन क्लबसहित आठ वटा नाम चलेका क्लबले प्रतियोगितामा सहभागिता जनाउँदैछन् ।

खेल तालिकाअनुसार दोस्रो खेलमा बेलबारी एफसीले थ्री स्टार क्लबसँग, तेस्रो खेलमा त्रिभुवन आर्मी क्लबले भारतको एमएफसी दार्जीलिङसँग र अन्तिम क्वाटरफाइनल खेल मच्छिन्द्र एफसीले गोर्खा ब्वाइज एफसी रुपन्देहीसँग प्रतिस्पर्धा तय भईसकेको छ ।

यसपटक विभागीय टोलीमध्ये आर्मीले मात्र गोल्डकपमा सहभागिता जनाउने भएको छ । पहिलो संस्करणको विजेता नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपीएफ टिम नआउने निश्चित भएको छ । स्मरण रहोस प्रतियोगिताको दोस्रो संस्करण आर्मीले जितेको थियो ।

१० हजार दर्शक क्षमता


आयोजकले खेल स्थलको तयारी पनि पूरा भएको जनाएको छ । बाँसको अस्थायी प्यारापिट निर्माणदेखि घेराबाराको काम अन्तिम भएको जनाएको छ । त्यस्तै, तारजालीमा रंगरोगन गर्ने काम पनि बुधबार सकिएको क्लबका अध्यक्ष रमेश लावतीले जानकारी दिए ।

लावतीका अनुसार खेलमैदान सम्याउनेदेखि दर्शकका लागि अस्थायी बाँसको प्यारापिट निर्माण गरिएको छ । जसमा १० हजार दर्शक क्षमता रहेको उनको भनाइ छ । यसपटक सभ्यसँगै भव्य गोल्डकपको आयोजना गरिएको उनको दाबी छ ।

गोल्डकपलाई झापाकै प्रतिष्ठित प्रतियोगिता बनाउन भूगोलमा छुट्याउन नहुने भन्दै उनले अन्य केही गोल्डकप धराशायी अवस्थामा पुगेकाले सचेत भएर खेलप्रेमीले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

एन्फाका कारण समस्या

क्लबका उपाध्यक्ष फुर्वा तामाङले आयोजकले माग गरेबमोजिम एन्फाले तालिका उपलब्ध नगराउँदा व्यवस्थापनमा समस्या आएको बताए । ए डिभिजन लिगकै मिति सारिँदा पनि आयोजकले केही आर्थिक भार व्यहोर्नुपर्ने अवस्था आएको बताए ।

उनले गोल्डकप सम्पन्न गर्न आयोजकले कुनै कसर बाँकी नराख्ने दृढ संकल्प लिएको भन्दै तर एन्फाको तालिकाअनुसार गोल्डकप आयोजना गर्दा भनेअनुसार पूर्वतयारी गर्न नपाउँदा अािर्थकसँगै व्यवस्थापनको पक्षमा समस्या व्यहोर्नु परेको सुनाए ।

आर्थिक संकलनमा तिव्रता

उता आयोजकले अपेक्षा गरेअनुसारको आर्थिक संकलनलाई तिव्रता दिइएको आर्थिक संयोजक सनम इजमले जानकारी दिए । गोल्डकप सम्पन्न गर्न ७६ लाख खर्च हुने अनुमान गरिएको बताउँदै उनले अहिलेसम्म ६० प्रतिशतभन्दा बढी रकम संकलन भएको बताए ।

लक्ष्य पूरा हुने दाबी गर्दै उनले विगत वर्षझैँ केही रकम बचत गरेर क्लबले गर्दै आएका सामाजिक कार्यलाई निरन्तरता दिने लक्ष्य पनि सुनाए । यसवर्ष टिकट बिक्रीबाट मात्र १० लाख रुपैयाँ संकलन हुने आयोजकले अपेक्षा लिएको छ ।

विजेतालाई ६ लाख

गोल्डकपको विजेताले यसवर्ष ६ लाख नगदसहित ट्रफी पाउनेछ । आर्थिक संयोजक इजमका अनुसार म्यान अफ दी टुर्नामेन्टको पुरस्कार राशि ५० हजार राखिएको छ । त्यस्तै, अन्य विधागत पुरस्कार जनही २०–२० हजार पाउँदा सर्वाधिक गोलकर्तालाई नगद २५ हजार प्रदान गनिेछ भने प्रत्येक खेलको म्यान अफ दी म्याचलाई नगद १० हजार पुरस्कार प्रदान गरिनेछ ।

झापा ११ नहुँदा तनाव

दर्शकको साथ पाएको झापा ११ एफसी गोल्डकपमा सहभागी नहुँदा आयोजकसँगै उसका समर्थकलाई तनाव सिर्जना भएको छ । नियमित सहभागी हुँदै आएको झापा ११ तेस्रो संस्करणमा सहभागी छैन ।

झापा ११ लाई गोल्डकपमा सहभागी गराउने विषयमा आयोजकमाझ लामै छलफल चले पनि नियमित खेलाडी अन्य क्लबमा आवद्ध भएकाले पनि यसपटक सहभागी गराउन नसकिएको आयोजकको भनाइ छ ।

झापा ११ एफसीका अध्यक्ष जलकुमार गुरुङसँग पनि बसेर यस विषयमा छलफल गरेको क्लबका सचिव भाग्य फागोले बताए । झापा ११ लाई सहभागी गराउनका लागि एन्फासँग फागुन १५ गतेसम्मको समय माग गरिँदा नपाएको र १० वटा टिम बनाएर लैजाने निश्कर्ष लिइए पनि यसमा एन्फा सहमत नभएको सचिव फागोको भनाइ छ ।

उनका अनुसार झापा ११ लाई सहभागी गराउँदा नयाँ खेलाडी, जुनियर खेलाडी आउने सम्भावना भएको र अपेक्षित खेल पस्कन नसकेको खण्डमा झापा ११ को प्रतिष्ठामा आँच आउने चिन्ताले पनि आयोजकले सहभागी नगराएको बताइएको छ ।


फ्यान फलोअर्स बढी भएको टिम झापा ११ लाई सहभागी गराउन नपाउँदा आयोजकलाई पनि चिन्ता लागेको उपाध्यक्ष तामाङले सुनाए । आयोजकको स्थानमा झापा ११ लाई समेटेर लैजाने सोँच पनि बनाइएको भए पनि प्राविधिक कारणले नसकिएको उनको भनाइ छ ।

Post Comments