News फर्साटिकर इभोलुशन कपको सेमिफाइनलमा
सुरज राना मगर

बुटवल । फर्साटिकर युवा क्लब, फर्साटिकर यहाँ जारी इभोलुशन कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको अन्तिम क्वाटरफाइनलमा फर्साटिकरले भूपू सैनिक जवई स्र्पोटिङ क्लब, सालघारी, बुटवललाई शून्यका विरुद्ध १ गोलले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो ।

बुटवल–१२, तामनगर स्थित चारपाला रंगशालामा भएको खेलमा फर्साटिकरका लागि दोस्रो हाफमा बलराम न्यौपानेले गरेको एक मात्र गोल निर्णायक गोल बन्यो । खेलमा म्यान अफ द म्याच भने पराजित भूपू सैनिकका टोम बहादुर गुरुङ घोषित भए ।

आइतबारको नतिजासँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पनि पूरा भएको छ । सेमिफाइनल अन्तरगत बैशाख १९ गतेको पहिलो सेमिफाइनल खेल आयोजक इभोलुशन एफसी र मुर्गिया एफसीबीच हुनेछ भने बैशाख २० गते दोस्रो सेमिफाइनलमा लिस्नु युवा क्लब र फर्साटिकर युवा क्लब भिड्ने छन् ।

इभोलुशन क्लब अफ बुटवल, तामनगरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५०,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबकी अध्यक्ष हिरा कुमारी तरामुले जानकारी दिईन् । फाइनल खेल यही बैशाख २२ गतेका दिन हुनेछ ।

Post Comments