News मनाङको खराब लय जारी
गोलनेपाल

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगतर्फ आइतबार भएको आफ्नो १३औं चरणको खेलमा मनाङ मस्र्याङ्दी क्लबले लगातार छैठौं हार बेहोरेको छ ।

एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा मनाङले नवप्रवेशी टोली चर्च ब्वाईज युनाइटेडसँग ३–० को हार बेहोर्यो । शनिबार हुने भनिएको खेल खराब मौसमका कारण आइतबार सारिएको थियो । यद्यपि मनाङले आफु अनुकुल नतिजा निकाल्न भने असफल भयो ।

चर्च ब्वाईजका लागि ४०औं मिनटमा अनन्त तामाङले पहिलो गोल गरेका थिए । ५४औं मिनटमा मौसम सुब्बाले दोस्रो तथा खेलको अन्तिमतिर इन्जुरी समयमा साइमन लिम्बुले तेस्रो गोल गर्दै टोलीको जित पक्का गरेका थिए ।

लिगमा पाँचौं जित हात पारेको चर्च ब्वाईज १३ खेलबाट २१ अंकका साथ लिगतालिकाको चौथो स्थानमा छ । त्यस्तै लगातार छैठौं हार बेहोरेको मनाङ भने १५ अंकका साथ १०औं स्थानमा पुगेको छ ।

आर्मी र शेर्पा, मच्छिन्द्र र सातदोबाटोको बराबरी

त्यस्तै शनिबार वर्षाले बिथोलिएको र आइतबार सुचारु भएको आर्मी र शेर्पा बीचको खेल १–१ गोलको बराबरीमा टुंगिएको छ । दशरथ रंगशालामा भएको उक्त खेलको पहिलो मिनटमा आर्मीका लागि नवयुग श्रेष्ठले गोल गरेका थिए भने शेर्पाका लागि ५५औं मिनटमा विश्वास श्रेष्ठले गोल फर्काएका थिए ।

यो नतिजापछि १३ खेलबाट १४ अंक जोडेको शेर्पा रेलिगेशन क्षेत्र छाड्दै एक स्थानमाथि १२औं स्थानमा उक्लेको छ । त्यस्तै आर्मी भने २० अंकका साथ पाँचौं स्थानमा छ ।

त्यसैगरी दशरथ रंगशाला मै भएको दिनको अन्तिम खेलमा मच्छिन्द्र फुटबल क्लब र सातदोबाटो युथ क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । यो नतिजापछि १३ खेलबाट १८ अंक जोडेको मच्छिन्द्र सातौं स्थानमा छ । उता सातदोबाटो भने २२ अंकका साथ तेस्रो स्थानमा छ । र दोस्रो स्थानको टोली थ्रीस्टारसँग अंक बराबरी गरे तापनि गोलभिन्नताले पछि परेको छ ।

Post Comments