News बिर्तामोड युनाइटेड च्याम्पियन कपको हिसाब सार्वजनिक
रमेश समदर्शी

एनी बिर्तामोड युनाइटेड इण्डो-नेपाल च्याम्पियन कप फुटबल प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ ।

आयोजक बिर्तामोड युनाइटेड एफसीले बिहीबार प्रतियोगिताको आय-व्यय सार्वजनिक गरेको हो । आयोजक क्लबका अध्यक्ष भेषराज लिम्बू (भुपेन)का अनुसार प्रतियोगितामा १५ लाख ३७ हजार ८८२ रुपैयाँ आर्थिक संकलन भएको थियो ।

जसमध्ये प्रतियोगिता सम्पन्न गर्नका लागि १४ लाख १८ हजार ९ सय रुपैयाँ खर्च भएको छ । उनका अनुसार देशविदेशमा रहको फुटबलप्रेमी दाताबाट ११ लाख २९ हजार ८८२ रुपैयाँ संकलन भएको थियो भने स्थानीय विभिन्न संघसंस्थाबाट ४ लाख ८ हजार आर्थिक सहयोग प्राप्त भएको थियो ।

गत मंसिर २१ गतेदेखि २९ गतेसम्म भएको प्रतियोगितामा क्लबले १ लाख १८ हजार ९८२ रुपैयाँ प्रतियोगिता सम्पन्न गरेर बचत गरेको क्लबका सहकोषाध्यक्ष योगेश गुरुङले जानकारी दिए । उनका अनुसार प्रतियोगिताका लागि विभिन्न दाताबाट ३ लाखभन्दा बढी आर्थिक सहयोग उठ्न बाँकी रहेको छ ।

प्रतियोगिताकै दौरानमा क्लबका खेलाडी समुन्द्र माझीलाई ४५ हजार आर्थिक सहयोग प्रदान गरेको थियो । माझी दुवै मिर्गौला खराब भएर उपचाररत छन् । यस्तै, झापाबाट राष्ट्रियस्तरसम्म पुगेका ८ जना पूर्व फुटबलरलाई नगद ५-५ हजारसहित सम्मान गरेको थियो ।

आठ टिम सहभागी प्रतियोगिताको उपाधि भने इलामको रेड हर्स फुटबल क्लबले जितेको थियो । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा सम्पन्न फाइनल स्पर्धामा सुनसरीको धरान सिटी फुटबल क्लबलाई ४-१ गोल अन्तरले हराउँदै रेड हर्सले उपाधि रक्षा गरेको हो ।

उपाधिसँगै इलामले नगद २ लाख २२ हजार २२२ र ट्रफी तथा उपविजेता धरानले नगद १ लाख ११ हजार १११ र ट्रफी पाएको थियो । यसैबीच, प्रतियोगिताको दोस्रो संस्करणका लागि आगामी बैठकले निर्णय गर्ने क्लबका सचिव सन्तोष राईले जानकारी दिए ।

Post Comments