News लिस्नुलाई इभोलुशन कपको उपाधि
सुरज राना मगर

बुटवल । स्व. प्रबुद्ध रोशन श्रेष्ठ स्मृति इभोलुशन कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि लिस्नु युवा क्लब, कोटिहवाले जितेको छ । शुक्रबार भएको फाइनल भिडन्तमा दश खेलाडीमा सिमित भएर पनि लिस्नुले आयोजक इभोलुशन क्लब अफ बुटवल, तामनगरलाई टाईब्रेकरमा हराउँदै उपाधि जित्न सफल भएको हो ।

त्यसअघि बुटवल–१२, तामनगर स्थित चारपाला खेलमैदानमा भएको निर्धारित समयको रोमाञ्चक खेल १–१ को बराबरीमा टुंगिएको थियो । खेलको १२औं मिनट मै मनिष चौधरीको गोलबाट लिस्नुले खेलमा अग्रता बनाएको थियो । तर दोस्रो हाफमा इभोलुशनका लागि बिशाल शाहीले बराबरी गोल फर्काएका थिए ।

खेलको दोस्रो हाफ मै लिस्नुका नयन पुनले दोहोरो पहेंलो कार्ड खाँदै मैदान छाड्दा पाहुना टोली दश खेलाडीमा सिमित बनेको थियो । तर इभोलुशनले त्यसको फाईदा उठाउन सकेन । पटक–पटकको गोल प्रयास सफल नहुँदा खेल टाईब्रेकरतर्फ धकेलिएको थियो । टाईब्रेकरमा भने लिस्नुले नतिजा ४–२ ले आफ्नो पक्षमा पार्न सफल भयो ।

विजेता बनेको लिस्नुले उपाधिसहित नगद १,०१,१११ रुपैयाँ हात पार्यो भने उपविजेता इभोलुशनले ५०,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

इभोलुशनका जितेश गुरुङ प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी चुनिए । त्यसवापत उनले नगद ५ हजार प्राप्त गरे । लिस्नुका हिमाल थापा सर्वाधिक गोलकर्ता बने । त्यसवापत पनि उनले नगद ५ हजार प्राप्त गरे ।

त्यस्तै उत्कृष्ट गोलरक्षक लिस्नुका कुशल सुनार चुनिए भने उत्कृष्ट डिफेन्डर इभोलुशनका बिशाल शाही घोषित भए । उत्कृष्ट मिडफिल्डर लिस्नुका एमोस पुन बन्दा उत्कृष्ट फरवार्ड इभोलुशनका सबी गुरुङ घोषित भए । उत्कृष्ट बनेका सबैले जनही ३–३ हजार प्राप्त गरे ।

विजयी खेलाडीहरुलाई आयोजक इभोलुशन क्लब अफ बुटवल, तामनगरकी अध्यक्ष हिरा तरामु, खेल संयोजक सन्त बहादुर श्रीस लगायतका अतिथीहरुले पुरस्कृत गरेका थिए । समापन कार्यक्रममा बोल्दै अध्यक्ष तरामुले प्रतियोगिता सफलताका साथ सम्पन्न गर्न सहयोग पुर्याउने सबैलाई धन्यवाद र आभार प्रकट गरिन् । साथै क्लबले प्रतियोगितालाई आउने दिनहरुमा पनि भव्यताका साथ आयोजना गर्ने योजना रहेको समेत बताईन् ।

नेपाली नयाँ वर्ष तथा बुद्ध जयन्तीको अवसर पारी यही बैशाख १४ गतेदेखि शुरु प्रतियोगितामा कुल ८ टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments