News मलेसियन क्लब विरुद्ध रोहितको उत्कृष्ट गोल
गोलनेपाल

काठमाडौं । इण्डोनेसियन जायन्ट पर्सिजा जकार्ताका लागि व्यवसायीक फुटबल खेलिरहेका नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर रोहित चन्दले इष्ट जावा गभर्नर कपमा आकर्षक गोल गरेका छन् ।

जकर्ताले बिहीबार मलेसियन क्लब सबाह एफए विरुद्ध २–० को जित निकालेको खेलमा रोहितले एक गोल आफ्नो नाममा लेखाए । खेलको ३६औं मिनटमा मार्को सिमिकको पेनाल्टी गोलबाट जकार्ताले खेलमा अग्रता बनाएको थियो ।

दोस्रो गोल भने ५२औं मिनटमा रोहितले गरे । सिमिक कै पासमा रोहितले पेनाल्टी एरिया नजिकैबाट बाँया खुट्टाले पोष्टको दाँया बार च्याप्दै गरेको दोस्रो गोलसँगै जकार्ताको जित पक्का गरेका थिए ।

स्मरण रहोस, गभर्नर कपलाई इण्डोनेसियन सुपर लिगको नयाँ सिजन शुरु हुनु अघिको प्रिसिजन तयारी प्रतियोगिताका रुपमा समेत हेरिन्छ । रोहितले हालै जकार्तासँग नयाँ सिजनका लागि आफ्नो सम्झौता नवीकरण समेत गरेका थिए ।

 

Post Comments