News झापा एफसी सेमिफाइनलमा
राजकुमार श्रेष्ठ

धनकुटा । संघर्षपुर्ण जितका साथ झापा फुटबल क्लब, झापा यहाँ जारी १५औं शहिद भिमनारायण गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको दोस्रो क्वाटरफाइनलमा झापाले राष्ट्रिय जागृति फुटबल क्लब, सुनसरीलाई टाईब्रेकरमा हराउँदै अन्तिम चारमा प्रवेश गर्न सफल भएको हो । तल्लो टुंडिखेल मैदानमा भएको निर्धारित समयको प्रतिस्पधाृत्मक खेल दुवै टोलीले २–२ गोलको बराबरी खेलेका थिए ।

खेलमा दुवै तर्फबाट एउटै खेलाडीले दुई–दुई गोल गरे । झापाका लागि खेलको आठौं र ६३औं मिनटमा प्रदिप बुढाथोकीले गोल गरेका थिए भने राष्ट्रिय जागृतिका लागि ६१ र ७०औं मिनटमा मिलन राईले गोल गरेका थिए ।

निर्धारित समयको खेल रोमाञ्चक बराबरीमा टुंगिएपछि खेलको निर्णय टाईब्रेकरबाट लिइएको थियो । जसमा झापाले नतिजा ४–३ ले आफ्नो पक्षमा पार्न सफल भयो ।

खेलमा झापाका गोलरक्षक सन्दिप लिम्बु म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ४ हजार र ट्रफी हात पारे । प्रतियोगिता अन्तरगत बैशाख २९ गते शुक्रबारको तेस्रो क्वाटरफाइनल खेल प्लानिङ ब्वाईज क्लब, काठमाडौं र कञ्चनजंघा फुटबल क्लब, सिलिगुडी, भारतबीच हुने आयोजकले जानकारी दियो ।

शहिद भिमनारायण स्मृति प्रतिष्ठान, धनकुटाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले २ लाख ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल यही जेठ २ गतेका दिन हुनेछ ।

Post Comments