News उत्कृष्ट जितका साथ सलहेशलाई रारा गोल्डकपको उपाधि
गोलनेपाल

राजारानी । बिहीबार सम्पन्न अग्नी–बसुन्धरा स्मृति १०औं गोर्खा रारा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधि सलहेश युवा क्लब, सिरहाले जितेको छ ।

राजारानी खेलमैदानमा सम्पन्न फाइनलमा डाँडाबजार फुटबल क्लब, धनकुटालाई १ का विरुद्ध ४ गोलले हराउँदै सलहेश विजेता बनेको हो । विजेता बनेको सलहेशले उपाधिसहित नगद ३ लाख हात पार्यो भने उपविजेता डाँडाबजारले १ लाख ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

व्यक्तिगत विधातर्फ सलहेश कै वर्चश्व

त्यस्तै व्यक्तिगत विधातर्फको पुरस्कारमा पनि विजेता सलहेश कै वर्चश्व रह्यो । फाइनल खेलको म्यान अफ द म्याच सलहेशका समिर तामाङ चुनिए । उनले पुरस्कार वापत नगद ५ हजार र ट्रफी हात पारे । उत्कृष्ट गोलरक्षक पनि सलहेश कै निश्चल मोक्तान घोषित भए । त्यसवापत उनले नगद १० हजार र ट्रफी हात पारे ।

उदियमान खेलाडी आयोजक रारा फुटबल क्लबका अर्जुन लिम्बु बने । उनले नगद १० हजार र ट्रफी हात पारे । प्रतियोगिताभरि कुल ४ गोल गरेका सलहेशका फागुराम थारु सर्वाधिक गोलकर्ता चुनिए । त्यसवापत उनले पनि नगद १० हजार र ट्रफी हात पारे ।

त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पनि फागुराम थारु नै घोषित भए । त्यसवापत उनले नगद २० हजार र ट्रफी हात पारे । विजयी खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी चौबिसे गाउँपालिका, राजारानीका अध्यक्ष राजकुमार चेम्जोङ लगायतका अतिथीहरुले पुरस्कृत गरे ।

रारा फुटबल क्लब, राजारानी, धनकुटाको आयोजना तथा चौबिसे गाउँपालिकाको संरक्षकत्वमा बैशाख १२ गतेदेखि शुरु भएको प्रतियोगितामा कुल ८ टोलीहरुले सहभागिता जनाएका थिए ।

 

Post Comments