News फराकिलो जितका साथ प्लानिङ ब्वाईज सेमिफाइनलमा
राजकुमार श्रेष्ठ

धनकुटा । प्लानिङ ब्वाईज क्लब, काठमाडौं जारी १५औं शहिद भिमनारायण गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको तेस्रो क्वाटरफाइनलमा प्लानिङ ब्वाईजले कञ्चनजंघा फुटबल क्लब, सिलिगुडी, भारतलाई ६–१ ले हराउँदै अन्तिम चारमा प्रवेश गरेको छ ।

तल्लो टुंडिखेल मैदानमा भएको खेलमा प्लानिङ ब्वाईजका लागि समिर थापाले दुई गोल गरे भने बेबो, फागुराम थारु, राजेश शाह र संजिव लामाले एक–एक गोल गरे । उता पराजित कञ्चनजंघाका लागि सोनम लेप्चाले एक मात्र सान्त्वना गोल फर्काएका थिए ।

खेलमा प्लानिङ ब्वाईजका फागुराम थारु म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ४ हजार र ट्रफी हात पारे । प्रतियोगिता अन्तरगत बैशाख ३० गते शनिबारको चौथो तथा अन्तिम क्वाटरफाइनल खेल एपिएफ, काठमाडौं र बिरंगज युनाइटेड, बिरगंजबीच हुने आयोजकले जानकारी दियो ।

शहिद भिमनारायण स्मृति प्रतिष्ठान, धनकुटाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले २ लाख ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल आउँदो जेठ २ गतेका दिन हुनेछ ।

Post Comments