News पुलिससँग स्तब्ध बन्यो संकटा, मनाङ रोकियो, एनआरटीलाई राहत
गोलनेपाल

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगतर्फ शुक्रबार भएका तीन खेलहरुमा मिश्रित नतिजाहरु निस्किएका छन् । रेलिगेशन क्षेत्रमा संघर्ष गरिरहेको टोली नेपाल पुलिस क्लबले बलियो संकटा क्लबमाथि २–१ को सनसनीपूर्ण जित निकाल्यो ।

पुलिसका लागि खेलको सातौं मिनट मै मोसेस ट्वुमले पहिलो गोल गरे । तर खेलको २२औं मिनटमा निशान खड्काले संकटाका लागि बराबरी गोल फर्काउन सफल भएका थिए । पहिलो हाफ १–१ को बराबरीमा टुंगिए तापनि दोस्रो हाफको ७८औं मिनटमा मोहम्मद आशिकले पुलिसका लागि दोस्रो तथा निर्णायक गोल गर्दै विभागीय टोलीलाई रोमाञ्चक जित दिलाए ।

यो नतिजापछि १७ खेलबाट १९ अंक जोडेको पुलिस रेलिगेशन क्षेत्र छाड्दै १२औं स्थानमा उक्लेको छ । पराजित संकटा भने २० अंकका साथ एक स्थान माथि ११औं स्थानमा खस्केको छ ।

एनआरटीको जित, मनाङ रोकियो

त्यस्तै दशरथ रंगशालामा साँझ ६ बजेदेखि शुरु भएको अर्को खेलमा एनआरटीले एफसी खुमलटारमाथि ३–२ को जित दर्ता गर्यो । खेलमा दुई गोलले पछि परेको स्थिति उल्टाउँदै एनआरटीले उत्कृष्ट पूनःरागमन गर्यो । ३१औं मिनटमा स्टेफन बिनङ र ३८औं मिनटमा राजिव लोप्चनको गोलबाट शुरुवाती दुई गोलको अग्रता बनाएर पनि खुमलटारले त्यो अग्रता गुमाउन पुगेको थियो ।

दोस्रो हाफमा खेलमा फर्किएको एनआरटीका लागि ६१औं मिनटमा बिक्रम धिमालले पहिलो गोल गरे । त्यसको दुई मिनट लगतै ललनुनजामाले दोस्रो गोल गर्दै खेललाई २–२ को बराबरीमा ल्याए । त्यस्तै खेलको ८३औं मिनटमा निकोलास सर्जे सङले एनआरटीका लागि तेस्रो गोल गर्दै सिजनको पाँचौं जित पक्का गरे ।

यो जितपछि १७ खेलबाट २१ अंक जोडेको एनआरटी लिगतालिकाको नवौं स्थानमा उक्लेको छ । पराजित खुमलटार भने १७ अंकका साथ रेलिगेशन क्षेत्रको पुछारमा झरेको छ ।

त्यस्तै शुक्रबार नै एन्फा कम्प्लेक्स्मा भएको खेलमा मनाङ मस्र्याङ्दी क्लबले हिमालयन शेर्पा क्लबसँग १–१ को बराबरी खेल्न बाध्य बनेको छ । १३औं मिनटमा निराजन धामीको गोलबाट अग्रता बनाएको मनाङले त्यसलाई जोगाउन सकेन । शेर्पाका लागि ३५औं मिनटमा अबायोमी फाकुन्लेले गोल फर्काउँदै खेललाई बराबरीमा ल्याएका थिए ।

यो नतिजापछि १७ खेलबाट २१ अंक जोडेको मनाङ सातौं स्थानमा छ । उता समान अंक जोडेको शेर्पा भने दशौं स्थानमा छ ।

Post Comments