News पोखरा–१४ लाई वडा कपको उपाधि
उमेश पुन
पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको अन्तर वडास्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर १४ ले हात पारेको छ । पोखरा रंगशालामा बिहीबार भएको फाइनलमा वडा नम्बर १५ लाई ४–० गोलान्तरले हराउँदै वडा नम्बर १४ च्याम्पियन बनेको हो ।
 
आशिष कार्की, सिद्धान्त गुरूङ, प्रताप गुरूङ र यामबहादुर श्रेष्ठले गरेको गोलसँगै वडा नम्बर १४ ले उपाधि जितेको हो । यामबहादुर फाइनल खेलको म्यान अफ द म्याच घोषित भए ।
 
विजेता वडा नम्बर १४ को टिमले एक लाख ५० हजार रूपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । उपविजेता वडा नम्बर १५ को टिमले एक लाख रूपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । वडा नम्बर १४ का आशिष कार्की प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी बने । उनले १५ हजार रूपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाए ।
 
वडा नम्बर १४ कै रामचन्द्र नेपाली उत्कृष्ट गोलरक्षक, निश्चल तुलाचन उत्कृष्ट डिफेन्डर, यामबहादुर श्रेष्ठ उत्कृष्ट मिडफिल्डर र ज्ञानेन्द्र भण्डारी उत्कृष्ट प्रशिक्षक घोषित भए । वडा नम्बर १५ का विशाल गुरूङ उत्कृष्ट फरवार्ड बने । उत्कृष्ट खेलाडी र प्रशिक्षकले ५÷५ हजार रूपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाए ।
 
पुरस्कार वितरणपछि बोल्दै महानगरपालिका प्रमुख धनराज आचार्यले खेलकुद क्षेत्रको विकास र खेलाडी उत्पादनमा महत्वपूर्ण हुने बताए । तल्लो तहमा हुने प्रतियोगितालाई महानगरपालिकाले विशेष प्राथमिकता दिने उनको भनाइ थियो । कास्की जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा भएको प्रतियोगितामा पोखरा महानगरपालिकाका ३३ मध्ये ३० वडाको सहभागिता थियो ।
Post Comments