News भलुवा गोल्डकप शुरु, मनोहराको विजयी शुरुवात
गोलनेपाल

दुहबी । बिहीबारदेखि शुरु नवौं भलुवा गोल्डकप नकआउट फुटबल प्रतियोगितामा मनोहरा फुटबल क्लब, काठमाडौंले विजयी शुरुवात गरेको छ ।

दुहबी–७ स्थित भलुवा फुटबल मैदानमा भएको उद्घाटन खेलमा मनोहराले एमवाइसी, दुहबी, सुनसरीलाई शून्यका विरुद्ध १ गोलले हराउँदै विजयी शुरुवात गरेको हो ।

मनोहराका लागि १५औं मिनटमा सन्दिप लिम्बुले गरेको एक मात्र गोल निर्णायक गोल बन्यो । निर्णायक गोलकर्ता लिम्बु नै खेलको म्यान अफ द म्याच चुनिए । उनले पुरस्कार वापत नगद ५ हजारसहित ट्रफी हात पारे ।

यो जितसँगै मनोहरा क्वाटरफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिता अन्तरगत जेठ १२ गते शुक्रबारको दोस्रो प्रिक्वाटरफाइनल खेल रारा एफसी, धनकुटा र झापा–११, झापाबीच हुने आयोजकले जानकारी दियो । त्यसअघि प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी दुहबी नगरपालिका, सुनसरीका नगर प्रमुख वेद नारायण गच्छदारले गरेका थिए ।

गोल्डेन स्टार युथ क्लब, दुहबी–७, भलुवा, सुनसरीको आयोजनामा शुरु भएको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४ लाख हात पार्नेछ भने उपविजेताले २ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही जेठ २० गतेका दिन हुनेछ ।

Post Comments