News बागमती प्रदेश खेलकुदः महिला फुटबलमा काठमाडौं च्याम्पियन
गोलनेपाल

हेटौडा । दोस्रो बागमती प्रदेश खेलकुदको महिला फुटबलतर्फको उपाधि काठमाडौंले जितेको छ । फाइनलमा सिन्धुलीलाई शून्यका विरुद्ध २ गोलले हराउँदै काठमाडौं च्याम्पियन्स बनेको हो ।

हेटौडा स्थित गौरीटार रंगशालामा भएको खेलको दशौं मिनटमा सुजिता घलानले काठमाडौंका लागि पहिलो गोल गरिन् भने ५८औं मिनटमा मनिषा थापा मगरले दोस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरिन् ।

काठमाडौंकी सुजिता घलान फाइनल खेलको प्लेयर अफ द म्याच चुनिईन् । उत्कृष्ट गोलरक्षक पनि काठमाडौं कै झरना नगरकोटी घोषित भईन् । उत्कृष्ट डिफेन्डर सिन्धुलीकी सन्जिता मगर चुनिईन् भने उत्कृष्ट फरवार्ड काठमाडौंकी सरस्वती ऐर घोषित भईन् ।

त्यस्तै उत्कृष्ट प्रशिक्षक पनि काठमाडौंका देवेन्द्र जंग शाही घोषित हुँदा सर्वाधिक गोलकर्ताको पुरस्कार मनिषा थापा मगरले हात पारिन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पनि काठमाडौं कै सरस्वती ऐर बनिन् ।

विजयी खेलाडीहरुलाई समापन कार्यक्रमकी प्रमुख अतिथी बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले पुरस्कृत गरेकी थिईन् । प्रतियोगितामा बागमती प्रदेशका ९ महिला फुटबल टोलीले सहभागिता जनाएका थिए ।

Post Comments