News रड्स रामपुर कर्णेल उजीर सिंह पाल्पा गोल्डकपको क्वाटरफाइनलमा
सुरज राना मगर

तानसेन । संघर्षपुर्ण जितका रडस रामपुर फुटबल क्लब, चितन जारी कर्णेल उजीर सिंह पाल्पा गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार भएको प्रिक्वाटरफाइनलतर्फ रड्स रामपुरले न्यु युथ युनियन क्लब, पाल्पालाई टाईब्रेकरमा हराउँदै अन्तिम आठमा प्रवेश गरेको हो ।

तानसेन स्थित टुंडिखेल मैदानमा भएको निर्धारित समय र थपिएको अतिरिक्त समयको खेल १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय टाईब्रेकरबाट लिइएको थियो । टाईब्रेकरमा भने रड्स रामपुरले नतिजा ४–२ ले आफ्नो पक्षमा पार्दै क्वाटरफाइनलमा स्थान बनाउन सफल भएको थियो ।

त्यसअघि निर्धारित समयको खेलतर्फ रड्स रामपुरले शुरुवाती अग्रता बनाएर पनि त्यसलाई जोगाउन नसक्दा टाईब्रेकरसम्म संघर्ष गर्नुपर्यो । खेलको चौथो मिनट मै बिक्की राईको गोलबाट रड्स रामपुरले खेलमा अग्रता बनाएको थियो । तर ३६औं मिनटमा मनिष तामाङले पाल्पाली टोलीका लागि बराबरी गोल फर्काएका थिए ।

खेलमा रड्स रामपुरका जितेश गुरुङ म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ३ हजार हात पारे । प्रतियोगिता अन्तरगत जेठ १८ गतेको अन्तिम प्रिक्वाटरफाइनल खेल स्वयम्भु युथ क्लब, काठमाडौं र बिष्णु पादुका युथ क्लब, पोखराबीच हुने खेल संयोजक करण चित्रकारले जानकारी दिए ।

पाल्पा जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार पाउने आयोजक पाल्पा जिल्ला फुटबल संघका अध्यक्ष प्रणय जंग राणाले बताए । फाइनल खेल यही जेठ २७ गतेका दिन हुनेछ ।

Post Comments