News सलहेश नवौं भलुवा गोल्डकपको फाइनलमा
गोलनेपाल

दुहबी । पछिल्लो समय मोफसलको फुटबलमा राम्रो प्रदर्शन गरिरहेको सलहेश युवा क्लब, सिरहा सुनसरीमा जारी नवौं भलुवा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको पहिलो सेमिफाइनलतर्फ सलहेशले बिरगंज युनाइटेड, पर्सालाई शून्यका विरुद्ध २ गोलले हराउँदै उपाधि नजिक पुगेको हो । खेलमा सलहेशले दुवै गोल दोस्रो हाफमा गर्यो ।

भलुवा फुटबल मैदानमा भएको खेलको दोस्रो हाफतर्फ सातौं मिनटमा नेपोलियनको पेनाल्टी गोलबाट सलहेशले खेलमा अग्रता लिएको थियो । त्यस्तै दोस्रो हाफ कै १८औं मिनटमा समिर तामाङले दोस्रो गोल गर्दै सलहेशको जित पक्का गरेका थिए ।

खेलमा सलहेशका समिर तामाङ म्यान अफ द म्याच घोषित भए । उनलाई खेलका विशिष्ठ अतिथी दुहबी नगरपालिकाका प्रशासकीय अधिकृत राजकुमार केसीले नगद ५ हजार र मेडलसहित पुरस्कृत गरे

प्रतियोगिता अन्तरगत जेठ १८ गते बिहीबारको दोस्रो सेमिफाइनल खेल प्लानिङ ब्वाईज युनाइटेड, काठमाडौं र झापा फुटबल क्लब, झापाबीच हुने आयोजकले जानकारी दियो ।

गोल्डेन स्टार युथ क्लब, दुहबी–७, भलुवा, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४ लाख हात पार्नेछ भने उपविजेताले २ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही जेठ २० गतेका दिन हुनेछ ।

Post Comments