News स्वयम्भु पाल्पा गोल्डकपको क्वाटरफाइनलमा
सुरज राना मगर

तानसेन । स्वयम्भु युथ क्लब, काठमाडौं जारी कर्णेल उजिरसिंह पाल्पा गोल्डकप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको अन्तिम प्रिक्वाटरफाइनलमा स्वयम्भुले बिणु पादुका युथ क्लब, पोखरालाई २–१ ले हराउँदै अन्तिम आठमा स्थान बनाएको हो ।

तानसेन स्थित टुंडिखेल मैदानमा भएको खेलमा स्वयम्भुका लागि खेलको २८ र ४१औं मिनटमा उत्तम शाहीले गरेको दुई गोल नै स्वयम्भुलाई जित दिलाउन निर्णायक बन्यो । उता बिष्णु पादुकाका लागि ६१औं मिनटमा दृश्य गुरुङले एक गोल फर्काए तापनि टोलीको पराजय टार्न सकेनन् ।

खेलमा दुई गोल गरेका स्वयम्भुका उत्तम शाही म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ३ हजार हात पारे । प्रतियोगिता अन्तरगत जेठ १९ गते शुक्रबारको पहिलो क्वाटरफाइनल खेल आयोजक पाल्पा–११ र फोर ब्रदर्श एफसी, नवलपरासीबीच हुने खेल संयोजक करण चित्रकारले जानकारी दिए ।

पाल्पा जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल भने यही जेठ २७ गतेका दिन हुनेछ ।

Post Comments