News महिन्द्र दल गण पाल्पा गोल्डकपको सेमिफाइनलमा
सुरज राना मगर

तानसेन । नेपाली सेनाको द फेमस महिन्द्र दल गण यहाँ जारी कर्णेल उजिर सिंह पाल्पा गोल्डकप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ ।

सोमबार दश खेलाडीमा सिमित बनेर पनि सेनाको टोलीले स्वयम्भु एफसी, काठमाडौंलाई शून्यका विरुद्ध २ गोलले हराउँदै अन्तिम चारमा स्थान बनाउन सफल भएको हो ।

खेलको १४औं मिनटमा प्रज्ज्वल गुरुङको गोलबाट महिन्द्र दल गणले खेलमा अग्रता बनाएको थियो । त्यस्तै दोस्रो हाफको ६५औं मिनटमा संगम माझीले दोस्रो गोल गर्दै टोलीको जित पक्का गरेका थिए ।

त्यस्तै खेलको दोस्रो हाफको शुरुवाततिर सेनाका गोलरक्षकले दोहोरो पहेंलो कार्ड खाँदै मैदान छाड्दा टोली दश खेलाडीमा खुम्चिएको थियो । तर, विपक्षी टोली स्वयम्भुले त्यसको फाईदा उठाउन सकेन । खेलमा सेनाका प्रज्ज्वल गुरुङ म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ३ हजार हात पारे ।

खेल संयोजक करन चित्रकारका अनुसार अब महिन्द्र दल गणले दोस्रो सेमिफाइनलतफै जेठ २४ गतेका दिन होराईजन एफसी, वालिङ विरुद्ध खेल्नेछ । प्रतियोगिता अन्तरगत जेठ २३ गते मंगलबारको पहिलो सेमिफाइनल खेल फोर ब्रदर्श एफसी, नवलपरासी र रड्स रामपुर एफसी, चितवनबीच हुने खेल संयोजक चित्रकारले जानकारी दिए ।

पाल्पा जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल यही जेठ २७ गतेका दिन हुने पाल्पा जिल्ला फुटबल संघका अध्यक्ष प्रणय जंग राणाले जानकारी दिए ।

Post Comments