News पाकिस्तानको लगातार दोस्रो हार
गोलनेपाल

काठमाडौं (एजेन्सी) । साफ च्याम्पियनसिप तयारीका रुपमा हाल मौरिससमा चारदेशीय रिपब्लिक कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता खेलिरहेको पाकिस्तानले लगातार दोस्रो हार बेहोरेको छ ।

उद्घाटन खेलमा आयोजक मौरिसससँग ३–० ले पराजित पाकिस्तानले बुधबार बलियो केन्यासँग १–० को हार बेहोर्यो । फिफा वरियताको १०२औं स्थानमा रहेको केन्याका लागि १७औं मिनटमा मोसेज शुमाहले गरेको एक मात्र गोल निर्णायक बन्यो ।

पहिलो खेलमा भन्दा सुधारिएको प्रदर्शन गरेको फिफा वरियताको १९५औं स्थानको पाकिस्तानले खेलमा फर्कने प्रयास गरे पनि सफल भएन । लगातार दुई हारसँगै पाकिस्तान उपाधि होडमा बाहिरिएको छ । पाकिस्तानले अन्तिम खेल १७ जुन शनिबारका दिन जिबुटीसँग खेल्नेछ ।

त्यसपश्चात पाकिस्तानी टोली साफ च्याम्पियनसिपका लागि भारतको बैंगलौरतर्फ प्रस्थान गर्नेछ । यही २१ जुनदेखि शुरु हुन गईरहेको १४औं साफ च्याम्पियनसिपमा पाकिस्तान समूह ए मा परेको छ । जहाँ उसले आयोजक भारत र कुवेतसँगै नेपालको सामना गर्नेछ । समूह बी मा भने लेबनान, माल्दिभ्स, बंगलादेश र भुटान रहेका छन् ।

Post Comments