News संघर्षपुर्ण जितका साथ प्रकाशपुर क्वाटरफाइनलमा
गोलनेपाल

इटहरी । प्रकाशपुर फुटबल क्लब यहाँ जारी प्रथम तालतलैया च्यालेञ्ज कप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको प्रिक्वाटरफाइनलतर्फ प्रकाशपुरले आयोजक तालतलैया एफसी (ए) लाई टाईब्रेकरमा हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

त्यसअघि बुढासुब्बा खेलमैदानमा भएको निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । खेलको पाँचौं मिनट मै सजेन राईको गोलबाट प्रकाशपुरले खेलमा अग्रता बनाए पनि त्यो अग्रता गुमाउन पुगेको थियो । दोस्रो हाफको २२औं मिनटमा मनिष कार्कीले तालतलैयाका लागि बराबरी गोल फर्काएका थिए ।

टाईब्रेकरमा भने प्रकाशपुरले तालतलैयालाई ३–२ ले हराउँदै अन्तिम आठमा स्थान बनाउन सफल भयो । खेलमा प्रकाशपुरका गोलरक्षक मुकेश अधिकारी म्यान अफ द म्याच चुनिए । उनले पुरस्कार वापत नगद ११ सय र ट्रफी हात पारे ।

प्रतियोगिता अन्तरगत असार ३ गते आइतबारको प्रिक्वाटरफाइनल खेल खदम एफसी, केराबारी, मोरङ र इटहरी एफसी, इटहरी, सुनसरीबीच हुनेछ ।

तालतलैया फुटबल क्लब, इटहरी, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५१ हजार हात पार्नेछ भने उपविजेताले ३१ हजार प्राप्त गर्नेछ ।

Post Comments