News खदम एफसी क्वाटरफाइनलमा
गोलनेपाल

इटहरी । रोमाञ्चक जितका साथ खदम एफसी, केराबारी, मोरङ यहाँ जारी प्रथम तालतलैया च्यालेञ्ज कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

आइतबार भएको प्रिक्वाटरफाइनलतर्फ खदमले इटहरी एफसी, सुनसरीलाई २–१ ले हराउँदै क्वाटरफाइनलमा स्थान बनाउन सफल भएको हो । खदमको जितमा दुवै गोल भुवन बस्नेतले गरे । उनले खेलको १५औं मिनटमा पहिलो गोल गरे भने दोस्रो हाफको २२औं मिनटमा दोस्रो गोल गर्दै टोलीको जितमा नायक बनेका थिए ।

उता इटहरीका लागि दोस्रो हाफको ३०औं मिनटमा अभिषेक कालिकोटेले एक गोल फर्काए तापनि टोलीलाई हारबाट जोगाउन सकेनन् । खेलमा दुई गोल गरेका खदम एफसीका भुवन बस्नेत म्यान अफ द म्याच चुनिए । उनलाई खेलका प्रमुख अतिथी हाम्रो भेट्रान क्लब, इटहरीका पूर्व अध्यक्ष मनदिप राईले नगद र ट्रफीसहित पुरस्कृत गरे ।

प्रतियोगिता अन्तरगत असार ४ गते सोमबारको क्वाटरफाइनल खेल प्रकाशपुर एफसी, सुनसरी र फ्युजन एफसी, उदयपुरबीच हुने आयोजकले जानकारी दियो ।

तालतलैया फुटबल क्लब, इटहरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५१ हजार हात पार्नेछ भने उपविजेताले ३१ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही असार ९ गतेका दिन हुनेछ ।

 

Post Comments