News भारतलाई इन्टरकन्टिनेन्टल कपको उपाधि
गोलनेपाल

काठमाडौं । साफ च्याम्पियनसिपको तयारी प्रतियोगिताका रुपमा समेत हेरिएको हिरो इन्टरकन्टिनेन्टल कपको उपाधि आयोजक भारतले जितेको छ । आइतबार भएको फाइनल भिडन्तमा भारतले आफूभन्दा माथिल्लो वरियताको लेबनानलाई २–० ले हराउँदै उपाधिमाथिमा दोस्रोपटक कब्जा जमाएको हो । स्मरण रहोस, भारतले सन् २०१८ मा भएको प्रतियोगिताको पहिलो संस्करण पनि जितेको थियो ।

भुवनेश्वर स्थित कालिंगा स्टेडियममा भएको खेलमा भारतका लागि स्टार कप्तान सुनिल क्षेत्री र ललियनज्वाला चाङ्तेले गोल गरे । क्षेत्रीले ४६औं मिनटमा पहिलो गोल गर्दा चाङ्तेले ६५औं मिनटमा दोस्रो गोल गर्दै घरेलु टोलीको जित पक्का गरेका थिए । प्रतियोगिताभरि समान २–२ गोल गरेका यी दुवै खेलाडी प्रतियोगिताको सर्वाधिक गोलकर्ता पनि बने ।

प्रतियोगिता अन्तरगत समूह चरणमा भारत र लेबनान भिड्दा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । फिफा वरियतामा भारत १०१औं स्थानमा छ भने लेबनान ९९औं स्थानमा छ । भारतका सन्देश झिंगन प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी चुनिए ।

अब भारत र लेबनानको ध्यान बुधबारदेखि शुरु हुने प्रतिष्ठित १४औं साफ च्याम्पियनसितर्फ केन्द्रित हुनेछ । साफको समूह ए मा रहेको भारतले कुवेत, नेपाल र पाकिस्तानसँग खेल्नेछ भने समूह बी मा रहेको लेबनानले बंगलादेश, माल्दिभ्स र भुटानको सामना गर्नेछ ।

Post Comments