News प्रकाशपुर तालतलैया च्यालेञ्ज कपको सेमिफाइनलमा
गोलनेपाल

इटहरी । प्रकाशपुर एफसी, वराहक्षेत्र, सुनसरी यहाँ जारी प्रथम तालतलैया च्यालेञ्ज कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको तेस्रो क्वाटरफाइनलमा प्रकाशपुरले फ्युजन एफसी, गाईघाट, उदयपुरलाई सडन डेथमा हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो ।

त्यसअघि बुढासुब्बा खेलमैदानमा भएको निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले २–२ गोलको रोमाञ्चक बराबरी खेलेका थिए । प्रकाशपुरका लागि खेलको आठौं मिनट मै सागेन राईले गोल गर्दै टोलीलाई खेलमा अग्रता दिलाएका थिए । तर २६औं मिनटमा अर्जुन मगरले फ्युजनका लागि बराबरी गोल फर्काउन सफल भएका थिए ।

दोस्रो हाफको सातौं मिनटमा सुजन उराउको गोलबाट प्रकाशपुरले फेरि खेलमा अग्रता बनाएको थियो । तर त्यो अग्रता पनि धेरैबेर जोगाउन सकेन । गोल खाएको एक मिनट लगतै दिवस राईले फ्युजनका लागि दोस्रो गोल गर्दे खेललाई २–२ को बराबरीमा ल्याएका थिए ।

खेलको नतिजा टाईब्रेकरबाट पनि निस्किन नसकेपछि खेल सडन डेथतर्फ धकेलिएको थियो । जसमा प्रकाशपुरले नतिजा ७–६ ले आफ्नो पक्षमा पार्दै जित हात पार्न सफल भएको थियो ।

खेलमा प्रकाशपुरका रुबीन कार्की म्यान अफ द म्याच घोषित भए । उनलाई खेलका प्रमुख अतिथी शिवालय टोल विकास समितिका अध्यक्ष जय बहादुर राईले नगद र ट्रफीसहित पुरस्कृत गरे । प्रतियोगिता अन्तरगत असार ५ गते मंगलबारको अन्तिम क्वाटरफाइनल खेल खदम एफसी, मोरङ र राजावास युथ क्लब, सुनसरीबीच हुने आयोजकले जानकारी दियो ।

तालतलैया फुटबल क्लब, इटहरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५१ हजार हात पार्नेछ भने उपविजेताले ३१ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही असार ९ गतेका दिन हुनेछ ।

Post Comments