News ‘बलिया टोली विरुद्ध खेल्न तयार’: मुख्य प्रशिक्षक भिन्सेन्जो
गोलनेपाल

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले आफ्नो टोली १४औं साफ च्याम्पियनसिपमा बलिया टोलीहरु विरुद्ध भिड्न तयार रहेको बताएका छन् ।

साफ च्याम्पियनसिपको पूर्वसन्ध्यामा मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै इटालियन प्रशिक्षक भिन्सेन्जोले साफका अन्य प्रशिक्षकहरुको तुलनामा आफू त्यति अनुभवी नभए तापनि नेपाली खेलाडीहरु विपक्षी विरुद्ध उत्कृष्ट खेल्न तयार रहेको बताए ।

भिन्सेन्जो भन्छन्, ‘बलिया टोलीहरु विरुद्ध खेल्न हामी उत्साहित र खुशी छौं । र विपक्षी विरुद्ध हामी राम्रो प्रदर्शन गर्नेमा आशावादी पनि छौं । हामीसँग तयारी गर्न त्यति समय नभए तापनि फिलिपिन्स विरुद्ध मैत्रीपूर्ण म्याच खेल्यौं । जुन हाम्रा लागी लाभदायी पनि रहयो ।’

स्मरण रहोस, बुधबारदेखि शुरु हुन गईरहेको साफ च्याम्पियनसिपतर्फ उद्घाटन खेलमै नेपालले बलियो कुवेतसँगै खेल्दै प्रतियोगिताको शुरुवात गर्दैछ । समूह ए मा रहेको नेपालले त्यसपछि २४ जुनका दिन आयोजक तथा डिफेन्डिङ च्याम्पियन भारत र २७ जुनका दिन पाकिस्तानसँग खेल्नेछ ।

त्यस्तै समूह बी मा भने लेबनान, बंगलादेश, माल्दिभ्स र भुटान रहेका छन् । प्रत्येक समूहको शिर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । फाइनल खेल ४ जुलाईका दिन हुनेछ ।

Post Comments