News हेड टु हेडः नेपाल विरुद्ध सधै भारी कुवेत
गोलनेपाल

काठमाडौं । आजदेखि शुरु हुन गईरहेको प्रतिष्ठित १४औं साफ च्याम्पियनसिपको समूह ए तर्फ उद्घाटन खेलमा नेपालले बलियो कुवेतको सामना गर्दैछ । गत संस्करणको उपविजेता समेत रहेको नेपाल विरुद्ध पहिलोपटक सहभागिता जनाईरहेको कुवेत अन्तर्राष्ट्रिय फुटबलमा सधै हावी बनेको इतिहास छ ।

अन्तर्राष्ट्रिय फुटबलमा नेपाल र कुवेत हालसम्म कुल ९ पटक भिडेका छन् । जसमा एक बराबरी गर्नुबाहेक नेपालले बाँकी आठ खेलहरुमा हार बेहोरेको छ । ती ९ भेटहरुमा नेपालले ३३ गोल खाएको छ भने तीन गोल मात्र फर्काएका छ ।

त्यस्तै सन् १९९४ मा भएको एसियन गेम्सतर्फ नेपालले कुवेतको हातबाट ८–० को हार बेहोरेको थियो । जुन यी दुई टोलीबीचको अहिलेसम्म कै फराकिलो अन्तरको नतिजा समेत थियो । नेपालले कुवेत विरुद्ध एक मात्र बराबरी सन् २०१९ मा खेलेको थियो । कुवेती मैदान मै भएको उक्त मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा टुंगिएको थियो । जुन नतिजा नै कुवेत विरुद्ध नेपालको अहिलेसम्मको सुखद नतिजा पनि हो ।

त्यसैगरी नेपाल र कुवेत अन्तिमपटक गत वर्ष कुवेत सिटी मै भिडेका थिए । एएफसी एसियन कपको तेस्रो चरणको छनोट खेलतर्फ गत वर्षको जुन महिनामा यी दुई टोली आमने सामने हुँदा कुवेतले नतिजा ४–१ ले आफ्नो पक्षमा पारेको थियो ।

यद्यपि त्यतिबेला नेपालले कुवेत विरुद्ध ४० वर्षपछि ऐतिहासिक गोल गर्न सफल भएको थियो । त्यस खेलमा नेपालका लागि दर्शन गुरुङले एक मात्र गोल फर्काएका थिए । नेपालले त्यसअघि पहिलोपटक सन् १९८२ को एसियन गेम्समा कुवेत विरुद्ध ३–१ को हार बेहोर्दा पहिलोपटक गोल फर्काएको थियो ।

समग्रमा भन्नुपर्दा नेपालमाथि कुवेत सधै हावी देखिएको छ । अधिकांश नियमित खेलाडीहरु विदेश पलायन हुँदा नेपाल नयाँ र पुराना खेलाडीहरुको सम्मिश्रणका साथ आज कुवेत विरुद्ध मैदानमा उत्रिदैछ । खेल ३ः४५ बजेदेखि बैंगलुरु स्थित श्री कान्तिरवा स्टेडियममा शुरु हुनेछ ।

नेपाललाई आज कुवेत विरुद्धको त्यो पुरानो तगारो तोड्ने चुनौति पनि हुनेछ ।

 

Post Comments