News स्टार स्पोर्टस क्वाटरफाइनलमा
गोलनेपाल

चितवन । स्टार स्पोर्टस क्लब, माडी छैठौं चितवन कप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार भएको प्रिक्वाटरफाइनलतर्फ स्टार स्पोर्टसले केबिए ग्लोबल भरतपुर एफसीलाई ३–१ ले हराउँदै अन्तिम आठमा प्रवेश गरेको हो ।

जुनियर प्रहरी अधिकृत शिक्षालयको खेलमैदानमा शुरुवाती अग्रता लिएर पनि त्यसलाई जोगाउन नसकदा भरतपुर पराजित हुन पुग्यो । खेलको १६औं मिनटमा सुदान्स चौधरीको गोलबाट भरतपुरले खेलमा अग्रता बनाएको थियो ।

तर स्टार स्पोर्टसले दोस्रो हाफमा उत्कृष्ट पूनःरागमन गर्यो । दोस्रो हाफको चौथो मिनट मै जित मगरले स्टार स्पोर्टसका लागि बराबरी गोल फर्काए । दोस्रो हाफ कै २७औं मिनटमा सुदिप क्षेत्रीले दोस्रो गोल थपे भने त्यसको केही मिनट लगतै देव दुराले तेस्रो गोल गर्दै स्टार स्पोर्टसको जित सुनिश्चित गरे ।

खेलमा स्टार स्पोर्टसका जित मगर म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार र ट्रफी हात पारे । प्रतियोगिता अन्तरगत असार ७ गते बिहीबारको खेल हर्दी युवा समाज, भण्डारा र जेपिओसी तालिम केन्द्रबीच हुने आयोजकले जानकारी दियो ।

एभरेष्ट क्लब, चितवनको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल यही असार १६ गतेका दिन हुनेछ ।

Post Comments