News पुर्वाञ्चल युनाइटेड फाइनलमा
गोलनेपाल

इटहरी । पुर्वाञ्चल युनाइटेड, सुन्दरहरैचा जारी प्रथम तालतलैया च्यालेञ्ज कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनलतर्फ पुर्वाञ्चलले प्रकाशपुर एफसी, बराहक्षेत्रलाई टाईब्रेकरमा हराउँदै उपाधि नजिक पुगेको हो ।

त्यसअघि बुढासुब्बा खेलमैदानमा भएको निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । खेलको २०औं मिनटमा अंकित थापाको गोलबाट अग्रता बनाएको प्रकाशपुरले त्यसलाई अन्तिमसम्म कायम राख्न सकेन । दोस्रो हाफको अन्तिमतिर सन्देश श्रेष्ठले पुर्वाञ्चलका लागि गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

टाईब्रेकरमा भने पुर्वाञ्चलले प्रकाशपुरमाथि ४–१ को जित निकाल्दै फाइनल प्रवेशको यात्रा पक्का गरेको थियो । खेलमा पुर्वाञ्चलका गोलरक्षक रोशन कार्की म्यान अफ द म्याच घोषित भए । उनलाई खेलका प्रमुख अतिथी मोरङ जिल्ला फुटबल संघका उपाध्यक्ष प्रकाश मास्केले नगद र ट्रफीसहित पुरस्कृत गरेका थिए ।

प्रतियोगिता अन्तरगत असार ७ गते बिहीबारको दोस्रो सेमिफाइनल खेल योङ स्टार इलेभेन, बेलबारी र राजाबास युथ क्लब, बराहक्षेत्रबीच हुने आयोजकले जानकारी दियो ।

तालतलैया फुटबल क्लब, इटहरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५१ हजार हात पार्नेछ भने उपविजेताले ३१ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही असार ९ गतेका दिन हुनेछ ।

Post Comments