News गिलसन निर्णायक बन्दा राजाबास फाइनलमा
गोलनेपाल

इटहरी । साँघुरो जितका साथ राजाबास युथ क्लब, बराहक्षेत्र यहाँ जारी प्रथम तालतलैया च्यालेञ्ज कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको दोस्रो सेमिफाइनलतर्फ राजाबासले योङ स्टार इलेभेन, बेलबारीलाई शून्यका विरुद्ध १ गोलले हराउँदै उपाधि नजिक पुगेको हो ।

बुढासुब्बा खेलमैदानमा भएको खेलको अन्तिमतिर गिलसन कन्दङ्वाले गरेको एक मात्र गोल राजाबासलाई फाइनल पुर्याउन निर्णायक बन्यो । निर्णायक गोलकर्ता कन्दङवा खेलको म्यान अफ द म्याच पनि चुनिए । उनलाई खेलका प्रमुख अतिथी नेपाल प्रहरीका पूर्व डिआइजी ज्ञान बिक्रम शाहले नगद र ट्रफीसहित पुरस्कृत गरे ।

राजाबासले अब असार ९ गते हुने फाइनलमा पुर्वाञ्चल युनाइटेड, सुन्दरहरैचासँग उपाधिका लागि भिड्नेछ ।

तालतलैया फुटबल क्लब, इटहरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५१ हजार हात पार्नेछ भने उपविजेताले ३१ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

Post Comments