News झापा: न्यू स्टार ढडुवा कपको सेमिफाइनलमा प्रवेश
रमेश समदर्शी

झापाको हल्दिबारीमा जारी प्रथम ढडुवा गलाउ मेचे स्मृति कप फुटबल प्रतियोगितामा शनिबार जित दर्ता गर्दै बिर्तामोडको न्यू स्टार क्लब खोपबाडी सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज भएको पहिलो क्वाटरफाइनल खेलमा स्पर्धी झापा एफसी राजगढलाई २-१ गोलअन्तरले पराजित गर्दै न्यू स्टारले सेमिफाइनल यात्रा तय गरेको हो । न्यू स्टारका लागि बबिन बोहोराले खेलको ५ मिनेटमै हेडरमार्फत गोल गर्दै अग्रता दिलाएका थिए ।

प्रतिस्पर्धात्मक खेलको ५०औँ मिनेटमा बबिनले नै आकर्षक गोल गर्दै अग्रता दोब्बर बनाए । खेलको अन्तिम १० मिनेट रोमाञ्चक बनेको थियो । जसमा झापा एफसीका लागि कप्तान श्याम मुर्मुले खेलको ५८औँ मिनेटमा गोल गरे ।

खेलमा फर्किन अन्तिम सेकेण्डसम्म प्रयत्न गरेको झापा एफसीले अन्त्यमा हार स्वीकार्न बाध्य बन्यो । खेलको म्यान अफ दी म्याच न्यू स्टारका कप्तान सनम राई घोषित भए ।

ढडुवा एफसी हल्दिबारीले आयोजना गरेको प्रतियोगितामा भोलि (आइतबार) बगान युथ क्लब कचनकवल र जलथल एफसी हल्दिबारीबीच हुनेछ ।

Post Comments