लमजुङ एफसीलाई पहिलो PNSB UAE गोल्ड कपको उपाधि
गोलनेपाल

दुबई, यूएई । नखिल गुर्खाज, युएइको आयोजनामा नेपाली फुटबल समुदायबीच आयोजना गरिएको पहिलो PNSB UAE गोल्ड कप २०२६ को उपाधि लमजुङ एफसी ले जित्न सफल भएको छ। प्रतियोगिताको फाइनल खेलमा लमजुङ एफसीले लालीगुराँस एफसीलाई २–१ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको सर्वाधिक नगद पुरस्कारसहित च्याम्पियन बन्न सफल भयो।

फाइनल खेल अत्यन्त प्रतिस्पर्धात्मक रह्यो। दुवै टोलीले उत्कृष्ट प्रदर्शन गरे पनि लमजुङ एफसीले अवसरहरूको सदुपयोग गर्दै उपाधि आफ्नो पक्षमा पार्न सफल भयो।

फाइनलसम्मको यात्रा

लमजुङ एफसीले सेमिफाइनलमा ओल्ड मन्क्स एफसीलाई ३–१ गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो।

त्यसैगरी, लालीगुराँस एफसीले सेमिफाइनलमा नखिल गुरखा एफसी विरुद्ध रोमाञ्चक खेल खेल्दै फाइनलको यात्रा तय गर्यो। निर्धारित समयमा खेल २–२ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो, जहाँ लालीगुराँस एफसी विजयी हुँदै फाइनलमा प्रवेश गरेको थियो।

प्रतियोगिताका उत्कृष्ट पुरस्कार विजेता

फेयर प्ले अवार्ड: नवबुद्ध एफसी

सर्वाधिक गोलकर्ता: सुमन लिम्बु (लालीगुराँस एफसी)

सर्वोत्कृष्ट खेलाडी: आशिष थापा (लमजुङ एफसी)

सर्वोत्कृष्ट गोलरक्षक: सञ्जीव लामा (लमजुङ एफसी)

Post Comments