News दोश्रो रामनारायण मिश्र कपको तयारी पूरा (खेलतालिकासहित)
गोलनेपाल

सिमरा । बाराको सिमरामा सोमबारदेखि शुरु हुने दोश्रो राम नारायण मिश्र फुटबल प्रतियोगिता २०८० को सम्पुर्ण तयारी पुरा भएको छ । आयोजक मधेश प्रदेश फुटबल संघले आइतबार सिमरामा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको अन्तिम तयारीबारे जानकारी गराएको हो ।

सिमरा रंगशालामा शुरु हुने प्रतियोगिता असार १६ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहने मधेश प्रदेश फुटबल संघका अध्यक्ष नेपाल कार्किले जानकारी दिए । अध्यक्ष कार्किले प्रतियोगिताको बिजेताले नगद ५० हजार र उप बिजेताले ३० हजार रुपैया पाउने बताए ।

प्रतियोगितामा पर्सा जिल्ला फुटबल संघ, बारा जिल्ला फुटबल संघ, रौतहट जिल्ला फुटबल संघ, सिराहा जिल्ला फुटबल संघ, महोत्तरी जिल्ला फुटबल संघ, धनुषा जिल्ला फुटबल संघ, सर्लाही जिल्ला फुटबल संघ र सप्तरी जिल्ला फुटबल संघको सहभागिता रहनेछ । सिमरा रंगशालामा रातीको समयमा फ्लड लाईटमा सञ्चालन हुने प्रतियोगिताको भोलि एक कार्यक्रमकाबिच मधेश प्रदेशका प्रमुख हरिशंकर मिश्रले उद्घाटन गर्ने अध्यक्ष कार्किले बताए ।

बारा जिल्ला फुटबल संघको सह आयोजनामा हुन लागेको प्रतियोगिताको उद्घाटन खेल बारा जिल्ला फुटबल संघ र पर्सा जिल्ला फुटबल संघबिच हुनेछ । दुई टिमबिचको उद्घाटन खेल दिउसो ४ बजेदेखि शुरु हुनेछ । पत्रकार सम्मेलनमा अध्यक्ष कार्किले प्रतियोगितामा प्रत्यक दिन म्यान अफ द म्याचको ट्रफिसहित विधागत पुरस्कारको समेत व्यवस्था गरिने बताए ।

प्रतियोगिताको ब्रोडकाष्टिङ पार्टनरमा गोल नेपाल डटकम रहेको छ । आयोजकले खेलाडी, रेफ्रि, अफिसियल, आयोजक र दर्शकको लागी ईन्सुरेन्सको समेत व्यवस्था गरेको जनाएको छ । प्रवेश शुल्क निशुल्क रहने प्रतियोगितामा तेश्रो स्थानको लागी पनि हुने प्रतिस्पर्धा हुने बताईएको छ । रामनारायण मिश्र फुटबल प्रतियोगिताको पहिलो संस्करण धनुषाको महेन्द्र नगरमा भएको थियो ।

पहिलो संसकरणको बिजेता सर्लाही जिल्ला फुटबल संघ र उप बिजेता बारा जिल्ला फुटबल संघ भएको थियो । पत्रकार सम्मेलनमा बोल्दै मधेश प्रदेश फुटबल संघका बरिष्ठ उपाध्यक्ष विजय गुप्ताले प्रतियोगिताले जीतपुरसिमराको विकासमा ठुलो टेवा पुग्ने बताए । मधेश प्रदेश फुटबल संघका कोषाध्यक्ष शम्भुसिंह ठकुरीले सबै मिलेर प्रतियोगिता सफल बनाउनुपर्ने बताए ।

बारा जिल्ला फुटबल संघका अध्यक्ष रामचन्द्र लामाले प्रतियोगिताले यस क्षेत्रको आर्थिक विकासमा ठुलो सहयोग पुग्ने बताए । लामाले मधेश प्रदेश स्तरीय खेलको व्यवस्थापन बाराले पाउनु निकै खुशीको बिषय भएको बताउनुभयो । मधेश प्रदेश फुटबल संघका अध्यक्ष नेपाल कार्किको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनको सञ्चालन महासचिव विकाश शाहले गरेका थिए ।

Post Comments