News सुर्यपुर चितवन च्याम्पियनसिपको सेमिफाइनलमा
गोलनेपाल

चितवन । रोमाञ्चक जितका साथ सुर्यपुर फुटबल क्लब यहाँ जारी छैठौं चितवन च्याम्पियनसिप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको दोस्रो क्वाटरफाइनलतर्फ सुर्यपुरले स्टार स्पोर्टस क्लबलाई २–१ ले हराउँदै अन्तिम चारमा स्थान बनाउन सफल भएको हो ।

जुनियर प्रहरी अधिकृत शिक्षालयको खेलमैदानमा भएको खेलमा सुर्यपुरका लागि प्रदिप लामा र बिकी राईले गोल गरे । उता पराजित स्टार स्पोर्टसका लागि जमिर मियाले एक मात्र गोल फर्काएका थिए ।

खेलमा सुर्यपुरका प्रदिप लामा म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार र ट्रफी हात पारे । प्रतियोगिता अन्तरगत असार ११ गते सोमबारको तेस्रो क्वाटरफाइनल खेल हर्दी युवा समाज र गैंडाकोट फुटबल कलबबीच हुने आयोजकले जानकारी दियो ।

एभरेष्ट क्लब, चितवनको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल यही असार १६ गतेका दिन हुनेछ ।

Post Comments