News झापाः गोलधाप ढडुवा कपको सेमिफाइनलमा
रमेश समदर्शी

आयोजक ढडुवा एफसीको (बी) टिम प्रथम ढडुवा गलाउ मेचे स्मृति कप फुटबल प्रतियोगिताको पहिलो खेलबाटै बाहिरिएको छ ।

मंगलबार भएको अन्तिम क्वाटरफाइनल खेलमा गोलधाप एफसीसँग ढडुवाले १-० गोलले हार व्यहोरेको हो । पञ्चायत माविको खेलमैदानमा भएको खेलमा सनम हेमरमले गोलधाप एफसीका लागि निर्णायक गोल गरेका थिए ।

पहिलो हाफको इन्जुरी समयमा पाएको अवसरलाई सनमले गोलमा परिणत गराएका हुन् । पहिलो हाफको अन्तिम समयमा पाएको फ्रिकिकमा ढडुवाका गोलरक्षक अरिप ढुंगानाले पञ्च आउट गर्ने क्रममा बल भित्रिएपछि सनमले गोलपोस्टको दिशा दिएका थिए । विपक्षीको तुलनामा निकै सम्हालिएर खेलेका ढडुवाका खेलाडीले पटक पटक पाएको अवसर खेर फाले भने गोलधापका रक्षक सन्तोष हेमरम झन बाधक बनेका थिए ।

हेमरम खेलको म्यान अफ दी म्याच बने । घरेलु मैदानमा समर्थन पाएको ढडुवाका खेलाडीले अपेक्षाभन्दा उत्कृष्ट प्रदर्शन गरेर दर्शकको मन जित्न सफल भए । तर, हार टार्न भने सकेनन् । ढडुवा एफसीले आयोजना गरेको प्रतियोगितामा भोलि (बुधबार) एनसीएफसी सैनिकले न्यू स्टार क्लब खोपबाडीसँग पहिलो सेमिफाइनल खेल खेल्नेछ ।

Post Comments