News वेल्सका लागि खेल्ने किबनको सपना
गोलनेपाल

काठमाडौं । गत साता इङलिस फुटबलमा व्यवसायीक सम्झौता गर्ने पहिलो नेपाली मूलका पुरुष खेलाडी बनेर नेपाली सञ्चारमाध्यम समेत तताएका किबन राईले एक दिन वेल्सका लागि खेल्ने आफ्नो ठूलो सपना रहेको बताएका छन् ।

इङलिस फुटबल लिग टु क्लब न्युपोर्ट काउन्टी एएफसीमा गत साता मात्र व्यवसायीक सम्झौता गरेका १८ वर्षिय किबनले चर्चित बेलायती मिडिया बीबीसीसँग कुराकानीका क्रममा वेल्सका लागि खेल्ने सपना रहेको कुरा बताएका हुन् ।

किबन भन्छन, ‘वेल्सका लागि खेल्ने मेरो सबैभन्दा ठूलो सपना हो । म यही जन्मिए । मेरा सबै साथीहरु यही छन् । यही मेरो लागि उपयुक्त पनि छ ।’ वेल्सको ब्रेकन शहरमा आमा इन्द्रा र बुवा गज राईको कोखबाट जन्मिएका किबनको भनाई उद्दत गर्दै बीबीसीले लेखेको छ ।

नेपाली सञ्चारमाध्यममा आएका उनको समाचारबारे प्रश्न गर्दा किबनले आफू त्यतातिर बढी चासो नलिने बताए । बुवा–आमाले यसबारे आफूलाई जानकारी गराए तापनि ती कुराहरुलाई आफूले सामान्य रुपमा लिएको प्रतिक्रिया दिए ।

किबनका अनुसार इङलिस फुटबलमा आफूले पाएको मौका कै कारण नेपाली र दक्षिण एसियाली मात्र नभएर अन्य समुदायका क्षमतावान युवा खेलाडीहरुका लागि पनि अवसर पाउने सम्भावता र बाटो खुलेको बताउँछन् ।

कुराकानी कै क्रममा किबनले फुटबलमा लाग्न आफूलाई परिवारको पूरा साथ रहेको बताए । उनका पिता गजले बेलायती सेनामा २२ वर्ष सेवा गरी परिवारसहित वेल्स मै बसोबास गरिरहेको र आफूले फुटबल बुझ्न लागेदेखि परिवारले सधै साथ दिएको बताए ।

न्युपोर्ट क्लबको यु–१६ टोलीबाटै आफ्नो फुटबल करियर शुरु गरेका किबनले गत मार्च ५ तारीखका दिन सालफोर्ड सिटी विरुद्ध सिनियर टिममा डेब्यु गरेका थिए । प्रायः आक्रमक मिडफिल्डरको भूमिकामा खेल्ने किबनले क्लबसँगै इङलिस फुटबलमा पनि राम्रो प्रभाव छाड्ने विश्वास लिएका छन् ।

Post Comments