News बारालाई दोस्रो रामनारायण मिश्र स्मृति कपको उपाधि
गोलनेपाल

सिमरा । दोस्रो रामनारायण मिश्र स्मृति खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि बाराले जितेको छ । सिमरा रंगशालामा भएको उपाधि भिडन्तमा बाराले रौतहटलाई २–१ ले हराउँदै उपाधि जित्न सफल भएको हो ।

विजेता बनेको बाराले उपाधिसहित नगद ५० हजार हात पार्यो भने उपविजेता रौतहटले ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य बन्यो । तेस्रो स्थान हासिल गरेको सिराहाले नगद २० हजारसहित ट्रफी हात पार्यो ।

मनोज चौधरी फाइनल खेलको म्यान अफ द म्याच चुनिए । अन्य व्यक्तिगत विधातर्फ निरज धार्मी उत्कृष्ट गोलरक्षक बन्दा श्याम चौधरी उत्कृष्ट रक्षक घोषित भए । त्यसैगरी उत्कृष्ट मिडफिल्डर बिपिन मगर बन्दा उत्कृष्ट फरवार्ड सुजन पुलामी घोषित भए ।

सर्वाधिक गोलकर्ताको पुरस्कार सागर चौधरीले हात पारे । प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी भने बिबेक चौधरी चुनिए । उत्कृष्ट बनेका सबैले नगदसहित ट्रफी हात पारे ।

मधेश प्रदेश फुटबल संघको आयोजनामा असार ११ गतेदेखि शुरु भएको प्रतियोगितामा कुल ८ टोलीहरुले सहभागिता जनाएका थिए ।

 

 

Post Comments