News आयोजक फुलबारी गाईज सेमिफाइनलमा
सुरज राना मगर

बुटवल । आयोजक फुलबारी गाईज यहाँ जारी तेस्रो रुपन्देही कप खुला सेभेन ए साईड नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ ।

शनिबार भएको क्वाटरफाइनल खेलतर्फ फुलबारीले दोभान एफसीमाथि सडन डेथमा संघर्षपुर्ण जित निकाल्यो र अन्तिम चारमा प्रवेश गर्न सफल भयो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि खेल टाईब्रेकरतर्फ धकेलिएको थियो ।

टाईब्रेकरमा पनि नतिजा निस्किन नसकेपछि खेलको निर्णय सडन डेथबाट लिनुपरेको थियो । सडन डेथमा आयोजकले ५–४ ले नतिजा आफ्नो पक्षमा पार्न सफल भयो । खेलमा फुलबारीका गोलरक्षक श्रृजन श्रेष्ठ म्यान अफ द म्याच घोषित भए ।

त्यसैगरी शनिबार नै अन्य दुई प्रिक्वाटरफाइनल खेलहरु पनि सम्पन्न भए । जसअन्तरगत ब्रदर्श एफसीले एमएफसीलाई ३–१ ले हरायो । ब्रदर्शको जितमा आयुष गुरुङले दुई गोल गरे भने थप एक गोल हिमाल थापाले गरे । उता पराजित एमएफसीका लागि रेशम चोहानले एक गोल फर्काएका थिए । खेलमा ब्रदर्शका आयुष गुरुङ म्यान अफ द म्याच घोषित भए ।

त्यस्तै अर्को प्रिक्वाटरफाइनलमा झरना स्पोर्टस क्लबले शिवनगर एफसीलाई ७–० को फराकिलो अन्तरले हरायो । झरनाको जितमा अंकित रासकोटी एक्लैले ६ गोल गरे । त्यस्तै थप एक गोल आकाश रानाले गरे । खेलमा दोहोरो ह्याट्रिक गरेका अंकित रासकोटी म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तरगत असार २४ गते आइतबार बाँकी तीन क्वाटरफाइनल खेलहरु हुने खेल संयोजक यम सिंजालीले जानकारी दियो ।

फुलबारी गाईज, बुटवलको आयोजना तथा रानीगंज युवा क्लब, रानीगंजको सह–आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५५ हजार हात पार्नेछ भने उपविजेताले २५ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही असार २८ गतेका दिन हुनेछ ।

Post Comments