News नव शान्ती र ब्रदर्श सेमिफाइनलमा
सुरज राना मगर

बुटवल । नव शान्ती फुटबल क्लब र ब्रदर्श फुटबल क्लब यहाँ जारी तेस्रो रुपन्देही कप सेभेन ए साईड खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

आइतबार भएको क्वाटरफाइनल खेलतर्फ नव शान्तीले झरना स्पोर्टस क्लबलाई टाईब्रेकरमा हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । निर्धारित समयतर्फ नव शान्तीका लागि प्रेम थापाले गोल गरेका थिए भने झरनाका लागि निखिल थापाले गोल गरेका थिए । टाईब्रेकरमा भने नव शान्तीले ३–१ ले नतिजा आफ्नो पक्षमा पार्न सफल भयो । खेलमा नव शान्तीका प्रेम थापा म्यान अफ द म्याच घोषित भए ।

आइतबार नै भएको तेस्रो क्वाटरफाइनलतर्फ ब्रदर्शले नवयुवा खेलकुद तथा साँस्कृथिक परिवारलाई टाईब्रेकरमा ३–२ ले हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । खेलमा ब्रदर्शका बिशाल घर्ती मगर म्यान अफ द म्याच घोषित भए ।

त्यसैगरी प्रतियोगिताको अन्तिम प्रिक्वाटरफाइनल खेल पनि आइतबार नै सम्पन्न भयो । जसमा सैनिक एफसीले इभोलुशन क्लबलाई २–१ ले हरायो । सैनिकको जितमा एलिस बोहरा र कमल गुरुङले गोल गरे । पराजित इभोलुशनका लागि सागर जिसीले गोल गरेका थिए । खेलमा सैनिकका रबिन थापा म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तरगत असार २५ गते सोमबार चौथो तथा अन्तिम क्वाटरफाइनल खेल सिद्धार्थ एफसी र सैनिक एफसीबीच हुने खेल संयोजक यम सिंजालीले जानकारी दिए ।

फुलबारी गाईज, बुटवलको आयोजना तथा रानीगंज युवा क्लब, रानीगंजको सह–आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५५ हजार हात पार्नेछ भने उपविजेताले २५ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही असार २८ गतेका दिन हुनेछ ।

Post Comments