News एन्फा एकेडेमी बुटवलबाट पनि सबै खेलाडीहरु एसईईमा उत्तीर्ण
सुरज राना मगर

बुटवल । अखिल नेपाल फुटबल संघ (एन्फा) कै मातहतमा रहेर सञ्चालित एन्फा एकेडेमी बुटवलमा रहेका सबै बाल खेलाडीहरु एसइइ परीक्षामा उत्तीर्ण भएका छन् ।

एन्फा एकेडेमी बुटवलमा रहेका प्रशिक्षार्थीहरु मध्ये यसपटक तीन खेलाडीहरुले एसइइ परीक्षा दिएको र तीनै खेलाडीहरु उत्तीर्ण भएको एकेडेमीका निर्देशक बुद्धी बहादुर गुरुङले जानकारी दिए ।

एन्फा र रुपन्देही जिल्ला फुटबल संघको समन्वयमा सञ्चालित एकेडेमीबाट पछिल्ला तीन वर्षमा कुल २८ प्रशिक्षार्थीहरुले एसइइ उत्तीर्ण गरेको निर्देशक गुरुङले बताए । पहिला ६ जना, त्यसपछि १९ जना र यसपटक ३ जना गरी कुल २८ प्रशिक्षार्थीहरु एसइइृ उत्तीर्ण गरेको एकेडेमी निर्देशक गुरुङले जानकारी दिए ।

फुटबल खेलसँगै राम्रो शिक्षा र संस्कार सिकाएर युवा खेलाडीहरुलाई विदाई गर्न सफल भएकोमा एकेडेमीका निर्देशक बुद्धी गुरुङले खुशी पनि व्यक्त गरे । साथै उनले उत्तीर्ण सबै प्रशिक्षार्थीहरुलाई बधाई र उज्ज्वल भविष्काये शुभकामना पनि दिए ।

स्मरण रहोस, गत वर्ष श्रीलंकामा सम्पन्न साफ यु–१७ च्याम्पियनसिपमा एन्फा एकेडेमी बुटवलका चार खेलाडीहरु सुवास बम, सरोज दर्लामी, प्रितम कार्की र समिर चन्दले सहभागिता जनाएका थिए । प्रतियोगितामा नेपाल उपविजेता बनेको थियो ।

Post Comments